लण्डन(संयुक्त अधिराज्य), ५ साउन(बीबीसी) । बेलायतको अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ।
एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि(सेलहरू बनाउन सकेको थियो।
यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन।
बेलायतले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ।

कसरी खोपले काम गर्छ ?
उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो।
यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।
उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ।

एन्टीबडी र टी सेलको अर्थ
कोरोनाभाइरसका विषयमा एन्टीबडीबारे धेरै केन्द्रित हुने गरिएको छ। तर ती भनेका प्रतिरक्षा क्षमताका भाग मात्र हुन्।
एन्टीबडीलाई तटस्थ पारिदिँदा कोरोनाभाइरस निस्कृय हुनसक्छन्।
टीसेलहरू चाहिँ श्वेत रक्त कोषहरू हुन्। यी कोषहरूले प्रतिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् र शरीरको कुन भागका कोषहरूमा सङक्रमण छ भनी पत्ता लगाएर त्यसलाई नष्ट गरिदिन्छन्।
लगभग सबैखाले प्रभावकारी खोपहरूले एन्टीबडी र टी(सेल दुवैलाई बलियो पार्ने काम गर्छन्।
यो सुरक्षित छ ?
यो खोप सुरक्षित छ तर त्यसका केही साइड इफेक्ट अर्थात् असरहरू छन्।
सुखद् समाचारः अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले सम्भवतः कोरोनाको खोपको सफल परीक्षण गरेका छन् । यो खोपले संक्रमितको प्रतिरोधी क्षमता विकास गरेको र सुरक्षाका कुनै खतरा नरहेको चिकित्सकहरुले बताएका छन् । @theyatriji pic.twitter.com/g3dXZu1DUG
— Saroj Gautam (@gautam_sarose) July 20, 2020
त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।
त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अक्सफोर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर पोलार्डले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिनुभयो।
अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्ड भन्नुहुन्छ, यो खोपलाई पुष्टि गर्न र हाम्रो खोपले कोभिड(१९ महामारीलाई व्यवस्थापन गर्छ भन्नका लागि धेरै काम गर्न बाँकी छ। तर पहिलो नतिजाले सकारात्मक सङ्केत गर्छ।








