अजोड इन्स्योरेन्सको मंगलबारबाट दोस्रो बजारमा कारोबार हुने ; ओपनिड. रेञ्ज ९७ रुपैयाँ देखि २९१ रुपैयाँ
काठमाडौं, १२ साउन । निर्जीवन बीमा व्यवसाय गर्ने अजोड इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ।
सोमबार कम्पनीको १०० रुपैयाका एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
भोलिदेखि नै अजोड कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा किन्न पाइने छ । कम्पनीले कारोबार संकेत एआईएल रहेको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकेको छ ।
कम्पनीले असार २५ गते बिहिबारदेखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो।
त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो।
बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा कायम भएको छ ।


















