काठमाडौं, १२ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणमा परेर थप तीन जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जीवन गुमाउने तीनै जना पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार निधन हुने मध्येका एक बारा फेटा,३ का ६० वर्षिय पुरुष रहेका छन् । उनको साउन १२ गते सोमबार त्रि.वि. शिक्षण अस्पताल,महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी पुरुष न्युमोनिया, मष्तिष्क घात र मृगौला रोगबाट ग्रसित थिए ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट मृत्यु भएको पुष्टि भएका दोश्रो व्यक्ति विदेशी नागरिक रहेका छन् । ६५ बर्षीय ती भारतीय नागरिक वीरगञ्ज, १० मा बस्दै आएका थिए । उनलाई मुटु तथा मधुमेहको समस्या पनि रहेको थियो । गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको साउन ११ गते,आइतबार मृत्यु भएको हो ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण निधन हुने अर्का पुरुष धनुषा,शहिदनगर,८,डुमरियाका ३६ वर्षका थिए । खोकी,ज्वरो तथा स्वास्प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई साउन १० गते जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसियूमा उपचारकालागि लगिएको थियो ।
तर स्वास्थ्यमा सुधार नआएकाले उनलाई थप उपचाररार्थ बीपी कोइराला अस्पताल,धरान पुर्याउने क्रममा साउन ११ गते बाटोमा निधन भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४८ पुगेको छ ।

हालसम्म नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ७ सय ५२ पुगेको छ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६ सय २६ जना निको भएसँगै अहिलेसम्म १३ हजार ७ सय ५४ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४ हजार ९ सय २० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।
साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभएको छ।
कोरोनाभाइरस ब्यानर
‘लकडाउन भन्दा अगाडिका छ दिनमा गरिएका पीसीआर परीक्षणमा औसत ३.२५ सङ्क्रमण पुष्टि भएका थिए भने लकडाउन खुलेपछि सो औसत ३.३५ रहेको छ’,उहाँले भन्नुभयो।

अरू आँकडा के छन्?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय १८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४७ हजार ४ सय ५७ रहेको छ।
अहिले देशभरिका क्वारन्टाइनमा १६ हजार ३ सय ७९ जना छन्।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।


















