Prakash Adhikari August 4, 2020

 

नयाँदिल्ली(भारत), २० साउन (बीबीसी) । यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ।

उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ।

तर केही समययता भारत र चीनबीच द्धन्द्ध चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।

चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।

आलोचना
जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआइको आलोचना गनुभएको छ।

अब्दुल्लाले ट्वीटमा लेख्नुभएको छ, ‘बीसीसीआइरआइपीएल सञ्चालक परिषद्ले चीनको ठूलो कम्पनीसहित सबै प्रायोजकलाई निरन्तरता दिने निर्णय गरेको छ। मलाई त ती मूर्खहरूको बारे दुस्ख लागेको छ जसले कौसीबाट टिभी फ्याँकेका थिए। तिनले यहि दिन देख्न बाँकी थियो।’

उहाँले केही समय अगाडि चिनियाँ सामानको बहिष्कार गर्दै टिभी फुटाएका घटना स्मरण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको हो ।

यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ।

काङ्ग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले आइपीएलमा चिनियाँ कम्पनीलाई प्रायोजक बनाइराख्नु भनेको दोहोरो मापदण्ड अपनाउनु हो भन्नुभएको छ।

सत्ताधारी भारतीय जनता पार्टीका पूर्व सांसद एवं दलित नेता उदित राजले पनि आलोचनात्मक ट्वीट गर्दै भन्नुभएको छ, ‘लद्दाखमा हाम्रा २० सैनिक शहीद भएका बेला चिनियाँ मोबाइल भिभोको प्रायोजन फिर्ता हुने भनिएको थियो, भएन। ऊसँग २२०० करोड (भारु)को करार सम्झौता भएको छ। अमित शाह (गृहमन्त्री)का पुत्र बीसीसीआइका सचिव छन्। भएनन् त जनता बुद्धु !’

भारतीय जनता पार्टीसँग सम्बन्धित सङ्घ परिवारकै हिस्सा स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनि महाजनले उक्त निर्णयको आलोचना गर्दै सारा संसारले चीनको बहिष्कार गरिरहेको तर आइपीएलले उसलाई संरक्षण गरेको टिप्पणी गर्नुभएको छ।

महाजनले ट्वीटमा लेख्नुभएको छ, ‘आइपीएल एक व्यापार हो र यसलाई चलाउनेहरू राष्ट्र तथा उसको सुरक्षाप्रति असंवेदनशील छन्। सारा संसारले चीनको बहिष्कार गरिरहेको छ तर आइपीएलले उसलाई संरक्षण दिइरहेको छ। तिनले बुझ्नुपर्छ कि राष्ट्रभन्दा माथि केही पनि हुन सक्दैन, क्रिकेट पनि हुन सक्दैन। मानिसहरूले आइपीएलकै बहिष्कार गर्न सक्छन्।’

के निर्णय भएको छ ?

यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो।

बीसीसीआइसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन् २०२२ सम्मको निम्ति छ।

भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४ सय ४० करोड भारु तिर्छ।

आइपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछन्। यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ।

यसपटकको आइपीएलमा सबै टोलीहरूका निम्ति कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिने बताइएको छ।

यो सिजनको आइपीएलमा पनि नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने खेल्ने भएका छन् । उनी दिल्ली क्यापिटल्स्(पहिलेको दिल्ली डियर डेभिल्स)बाट तेस्रो पटक खेल्न लागेका हुन् ।

Share Now

Leave a comment.