Prakash Adhikari August 5, 2020

 

काठमाडौं, २१ साउन । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ई. सुशील भट्टले बुधबारदेखि कार्यभार सम्हाल्नुभएको छ ।

सोमबार मन्त्रिपरिषद्को बैठकले उहाँलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो।

बोर्डका तात्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेपछि रिक्त भएको यस पदमा खुला प्रतिस्पर्धामा सम्मिलित भई उत्कृष्ट ठहर तीन व्यक्ति मध्येबाट ई.भट्टलाई सरकारले चयन गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत चयनको लागि अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वमा गठन भएको समितिले विभिन्न चरणको परीक्षामा उत्कृष्ट भएका ३ जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।

नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउनका लागि स्थापना गरिएको यो महत्वपूर्ण पदमा रहेर सेवा गर्नका लागि १२ जना उत्साही युवाहरुले खुला प्रतिस्पर्धामा भाग लिएका थिए ।

राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा कार्यरत रहनुभएका ई. सुशील भट्टले नयाँ जिम्मेवारी सम्हाल्नुपूर्व योजना आयोगको सदस्यबाट राजिनामा दिनुभएको थियो ।

लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ई. सुशील भट्ट एक कुशल व्यवस्थापक मानिनु हुन्छ । राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा उहाँले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, सार्बजनिक निजी साझेदारी तथा आयोजना बैंक हेर्दैआउनुभएको थियो । भट्टकै अग्रसरतामा राष्ट्रिय योजना आयोगमा राष्ट्रिय आयोजना बैंक स्थापना भएको हो, जसले सार्वजनिक लगानीका आयोजनाहरुको पहिचान, मुल्यांकन, छनौट तथा प्राथमिकीकरण गरी स्रोतको उचित विनियोजन गर्छ ।

आयोजना छनौटका लागि आयोगले राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको समेत विकास गरेको छ । आवश्यकता र औचित्य पुष्टि भएका तथा स्रोतको सुनिश्चितता भएका आयोजनाहरुमात्र सरकारको बार्षिक बजेटमा समावेश गर्ने लक्ष्यले सथापना गरिएको राष्ट्रिय आयोजना बैंकको कार्यान्वयन पछि नेपालका विकास आयोजनाहरु निर्धारित समय र लागतमा सम्पन्न हुनुको साथै राजनीतिक दाउपेच ,दबाव,प्रभाव र पहुँचको आधारमा हचुवाका भरमा आयोजनाहरु बजेटमा पारेर अलपत्र छाड्ने प्रवृत्तिको अन्त्य हुनुको साथै प्रतिफलविहिन आयोजनाहरुमा बजेट छर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास गरिएको छ ।

योजना आयोगमा उहाँकै नेतृत्वमा बहुबर्षीय ठेक्कासम्बन्धी मापदण्ड परिमार्जन भई पूर्वतयारीका कार्यहरु सम्पन्न गरी स्रोतको सुनिश्चितता भए मात्रै बहुबर्षीय आयोजनाको स्वीकृत दिने कार्यको थालनी भएको छ ।

राष्ट्रिय योजना आयोगले वर्षेनी बाड्ने समपुरक अनुदानलाई व्यवस्थित बनाउन उहाकै नेतृत्वमा अनलाइन प्रणालीमा आधारित पद्धति अवलम्वन गरी प्रमाण र आवश्यकतामा आधारित भई निश्चित मापदण्ड पूरा गरेका आयोजनाहरुलाई मात्र बजेट विनियोजन गरिएको थियो । यसले गर्दा कोटको खल्तिबाट चिट निकालेर बजेटमा आयोजना पार्ने युगको अन्त्य हुन गई प्रदेश र स्थानीय तहमा समेत आवश्यकता र औचित्यका आधारमा आयोजनाहरु चयन गर्ने पद्धति बस्न गएको छ ।

भौतिक पूर्वाधार र शहरी विकाससंग सम्वन्धित १५औ आवधिक योजना, मध्यकालीन खर्च संरचना, वार्षिक विकास कार्यक्रम तर्जुमादेखि दिगो विकास लक्ष्य हासिल गर्न आवश्यकता विश्लेषण, वित्तीय र खर्च विश्लेषण जस्ता रणनीतिक कार्यको अनुभव पनि लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ई. भट्टसंग रहेको छ ।

नेपालका व्यवस्थापकहरुको छाता संगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघका निवर्तमान सभापति ई. भट्टको कार्यकालमा नेपालमा एसियन एसोसिएसन अफ मेनेजमेन्ट ओर्गनाईजेसन(आमो)को काउन्सिलको बैठक नेपालमा सम्पन्न भएको थियो भने उहाकै नेतृत्वमा विभिन्न अन्तराष्ट्रिय संघ संस्थासंग सहकार्य गरी नेपाललाई व्यवस्थापनको विश्व मानचित्रमा चिनाउने कार्य भएको थिय । २ हजार ५ सय भन्दा बढी व्यक्तिगत सदस्य तथा २ सय ५० संस्थागत सदस्य भएको व्यवस्थापकहरुको छाता संगठनमा उहाँ कार्यसमितिको सदस्य,प्रथम उपासभापति हुँदै सभापतिको पदमा पुग्नुभएको थियो ।

नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष ई. भट्टसंग नेपालका ठूला बैंकहरुमा बजार तथा सार्वजनिकसम्बन्ध विभाग प्रमुख र व्यवसाय विकास प्रबन्धक भई नयाँ वस्तु विकास, बजारीकरण, ग्राहक सम्बन्ध व्यवस्थापन, माध्यम तथा ठूला पूर्वाधार आयोजनाहरको अध्ययन, वित्तीय विश्लेषण र विकास आदिमा कार्य गरेको अनुभव पनि रहेको छ ।

पूर्वाधार विकास आयोजनाको योजना तर्जुमा, आयोजना विकास तथा कार्यान्वयनको अनुभव पनि संगाल्नुभएका प्रमुख कार्यकारी अधिकृत ई. भट्टसंग ,करार व्यवस्थापन र प्रशासन, लजिस्टिक तथा आपूर्ति शृंखला व्यवस्थापनसम्बन्धी अनुभव पनि रहेको छ । त्यसै गरी डानिडाको सहयोगमा संचालित सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्जनपुर ग्रामिण विधुतीकरण आयोजनामा उहाँले ६० हजार घरधुरी विधुतीकरण गर्ने कार्यको मुख्य व्यवस्थापनको (खरिद व्यवस्थापन, करार व्यवस्थापन तथा प्रशासन, गुणस्तर नियन्त्रण) भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँकै अग्रसरतामा नेपाल व्यवस्थापन संघको सुदूरपश्चिम शाखा, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त प्रयासमा सुदूरपश्चिमाञ्चल प्रदेशको विकासको मार्गचित्र विषयक कार्यशाला सम्पन्न भएको थियो । प्रदेशको विकासका मार्गचित्र तय गरिएको सो कार्यशाला निकै उपलब्धिमूलक रहेको थियो ।

लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ई. भट्टसंग योजना आयोग, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, इञ्जिनियरिंग तथा विकास आयोजनामा १७ बर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ ।

किंग्स् कलेज, एस इन्स्टिच्यूट अर्फ म्यानेजमेण्ट लगायतका नेपालका प्रमुख व्यवस्थापन कलेजहरुमा अध्यापन समेत गराउदै आउनुभएका ई. भट्टले राष्ट्रिय तथा अन्तर्राष्टिय सम्मेलनमा विकास व्यवस्थापन तथा पूर्वाधार विकाससंग सम्वन्धित विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ । उहाँले संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोगद्वारा आयोजित पूर्वाधार तथा सार्वजनिक निजी साझेदारी सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन (पहिलो र दोस्रो) मा प्रस्तोता भइ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभएका थियो । त्यस्तै एसियन एसोसिएसन अफ मेनेजमेन्ट अर्गनाईजेसनद्धारा फिलिपिन्सको मनिलामा आयोजित सम्मेलनमा पनि उहाँले राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पी एच डी चम्बर अफ कमर्स, नयाँ दिल्लीमा मुख्य वक्ता भई प्रस्तुति गर्नुका साथै सार्वजनिक निजी साझेदारी र पूर्वाधार विकास सम्बन्धि अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा पनि उहाँले आफ्नो प्रस्तुति दिदै आउनुभएको छ ।

काठमाण्डौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इञ्जिनियरिंगमा स्नातक गर्नुभएका ई. भट्ट व्यवस्थापन क्षेत्रको विज्ञको रुपमा नेपाल सरकारबाट प्रदान गरिने प्रवल जनसेवा श्री तथा भारतको टाइम्स एसेन्ट वर्ल्ड मानव स्रोत विकास कांग्रेसद्वारा उत्कृष्ट मानव स्रोत साधन व्यवस्थापक अवार्ड जस्ता सम्मानले विभूषित हुनुभएको छ ।

 

Image may contain: Sushil Bhatta, standing, suit and outdoor

नेपाल व्यवस्थापन संघ, नेपाल इञ्जिनियर्स एशोशिएसन, नेपाल मध्यस्थकर्ता परिषद्, सुदूरपश्चिमाञ्चल सरोकार समाज लगायत थुप्रै व्यवसायिक र सामाजिक संगठनहरमा आबद्ध रही महत्वपूर्ण योगदान पुर्याउनु भएका अनुभवी व्यक्तिलाई लगानी बोर्डको प्रमुख कार्यकारीमा गरिएको नियुक्ति ‘उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान’ सिद्ध भएको बताइन्छ ।

मुलकको आर्थिक र सामाजिक विकासको लागि स्वदेशी स्रोत र साधनमात्र पर्याप्त नहुने देखेर विदेशी ऋण र अनुदानको झोली थाप्नुभन्दा राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विकसित गरी प्रत्यक्ष विदेशी  लगानी ल्याउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारको पालामा लगानी बोर्डको स्थापना भएको थियो । प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी रहने गरी प्रधानमन्त्री अध्यक्ष रहने बोर्डको उपाध्यक्ष भने अर्थमन्त्री रहने प्रावधान रहेको छ ।

ई. भट्ट बोर्डको तेसो प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँभन्दा पहिले महाप्रसाद अधिकारी र राधेश पन्तले यो जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

Share Now

Leave a comment.