मेलबर्न(अष्ट्रेलिया), २७ साउन(बीबीसी) । अष्ट्रेलियामा त्यहाँको मेलबर्न सहरमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहँदा देशमा हालसम्मकै सबैभन्दा धेरै मानिसले भाइरसका कारण ज्यान गुमाएका छन्।
मेलबर्न राजधानी भएको भिक्टोरिया राज्यमा सोमवार १९ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ।
अष्ट्रेलियामा हालसम्म भएको ३ सय १४ जनाको मृत्यु भएको छ भने कोरोना भाइरसबाट संक्रमितको संख्या २१ हजार ४ सय पाइएको छ । त्यसमध्ये सङ्क्रमणका दुई तिहाइ घट्ना भिक्टोरियामा भएको छ।
तर दैनिक सङ्क्रमितहरूको सङ्ख्या सयौँमा भएपनि हालैका दिनमा घट्दो क्रममा देखिएको छ। यसबाट त्यहाँ लागु लकडाउनको व्यवस्था प्रभावकारी भएको हुनसक्ने आशा जगाएको छ।
मेलबर्नमा झण्डै एकमहिना अघि दोस्रो लकडाउन गरिएको थियो भने अगस्ट ३ तारिखदेखि त्यहाँ रात्रीकालिन कर्फ्यू र कडा नियमहरू लागु गरिएको छ।
घरबाट बाहिर निस्केर काममा जानेहरूले त्यसका लागि दिइएको अनुमतिपत्र बोक्नुपर्छ र अत्यावश्यक बाहकेका सबै पसल, व्यवसाय र कार्यालयहरू बन्द छन्।
सार्वजनिक स्थानमा नाकमुख ढाक्ने मास्क लगाउनु पनि अनिवार्य छ।
छिमेकको न्यू साउथ वेल्स राज्यको सिड्नी शहरमा निश्चित क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमण समूहगत रूपमा देखा परेको छ।
त्यहाँको सरकारले युवाहरूलाई तिनका सामाजिक क्रियाकलाप सीमित तुल्याउन आह्वान गरेको छ।
क्वीन्सल्याण्डले न्यू साउथ वेल्स र भिक्टोरियासँगको आफ्नो सीमा बन्द गरेको छ। त्यहाँ महामारीलाई रोक्न सकिएको सोमवार बताइएको छ। दुइ हप्ताअघि यात्रुहरूले त्यहाँ मेलबर्नबाट भाइरस भित्र्याएका थिए।
अष्ट्रेलियाको प्रारम्भिक सफलता के भयो ?
भाइरसको प्रभावलाई न्यूनीकरण गर्ने कुरामा अन्य देशहरूको दाँजोमा अष्ट्रेलिया अवस्था अझै पनि राम्रो नै छ।
महामारीको आरम्भमा नै अपनाइएको नियन्त्रणका प्रभावकारी उपायहरूलाई यसका लागि जस दिने गरिन्छ।
तर जुन महिनायता धेरै जसो अष्ट्रेलियालीहरु पहिलो चरणको लकडाउनबाट बाहिरिँदा मेलबर्न शहरमा सङ्क्रमणको अवस्था चर्किन पुगेको छ।
त्यहाँ सङ्क्रमणको स्थिति महामारी सुरु भएयता अष्ट्रेलिया भरिको कुल सङ्क्रमणको ७० प्रतिशत रहेको छ।