वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २८ साउन(बीबीसी) । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ।
कमला ह्यारिस उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुुनुहुन्छ।
इन्डियन र जमैकन मूलका मातापिताकी सन्तान कमला क्यालिफोर्नियाकी सांसद हुनुहुन्छ । उहाँले राष्ट्रपतिको उम्मेदवारको दौडमा सामेल भएर डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाइडेनलाई चुनौती पनि दिनुभएको थियो ।
राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उहाँको नाम चर्चामा रहिरह्यो। बाइडेनले उहाँलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा हुने गरेको थियो।
क्यालिफोर्नियामा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसक्नुभएकी कमलाले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहनुभएको थियो।
पहिलो अश्वेत महिला उम्मेदवार
आगामी नोभेम्बर ३ मा हुने चुनावमा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उप(राष्ट्रपति माइक पेन्ससँग आगामी अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्नुहुनेछ।
अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बन्नुभएको छ।
सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बन्नुभएको थियो। तर दुवैजनाले चुनाव जित्न सक्नुभएन।
हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन्।
बाइडेनको भनाई
बाइडेनले ट्वीट गरेर कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको घोषणा गर्नुभएको हो।
उहाँले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा उल्लेख गर्नुभएको छ।
I have the great honor to announce that I’ve picked @KamalaHarris — a fearless fighter for the little guy, and one of the country’s finest public servants — as my running mate.
— Joe Biden (@JoeBiden) August 11, 2020
उहाँले कमलालाई ‘बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक’ भन्नुभएको छ।
बाइडेनले कमला क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गर्नुभएको छ।
बाइडेनले कमलाका साथ बुधवार विल्मिङ्टनको डेलवेयरमा संयुक्त रूपमा सम्बोधन गर्ने घोषणा गर्नुभएको छ।

कमला को हुन् ?
५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनुभएको थियो।
उहाँ क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिनुभएको हो।
कमलाकी आमा भारतमा जन्मिनुभएको थियो भने पिता जमैकामा ।
उहाँले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो।
कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गर्नुभएको छ र उहाँले आफूलाई ‘एक अमेरिकी’ भन्ने गर्नुहुन्छ ।


















