काठमाडौं, ९ भाद्र । नेपालमा विगत २४ घण्टामा घातक कोरोना भाइरसको संक्रमणबाट ८ सय ५५ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा काठमाडौंका एक महिलासहित तीन जना एवम् सिराहा, पर्सा, धनुषा र रूपन्देहीका एक एक जना छन्।
अहिले थपिएका सङ्क्रमितमध्ये २ सय ३२ जना काठमाडौं उपत्यकाका छन्।
यो वृद्धिसँगै नेपालमा कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १ सय ६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
सो अवधिमा ११ हजार ३ सय २७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभयो।
अहिले देशभरि १४ हजार २ सय ५० जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताउनुभयो।
तीमध्ये ५ हजार ६ सय ६९ जना घरमै र बाँकी ८ हजार ५ सय ८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ सय १३ सङ्क्रमित निको भएका छन्। निको हुनेको कुल सङ्ख्या १९ हजार १ सय १९ पुगेको छ।

देशभरि क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना छन्।
गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार१६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।
त्यसैगरी भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।
यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८, साउन ३२ गते ६ सय ४१ र भदौ ८ गते ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।


















