मस्कट(ओमान),१३ माघ । नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिवेशनले फर्शुराम पोखरेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
२३ सदस्यीय नयाँ कार्य समितिको तीन उपसभापतिमा बेदनिधि आचार्य, शालिकराम चापागाई, संजयकुमार शाहलाई चयन गरेको छ ।
समितिको महामन्त्रीहरुमा नवीन पङेनी र युवराज स्वार रहेका छन् भने, सह–महामन्त्रीमा अनिल पौडेल, कोषाध्यक्षमा लोकनाथ बस्ताकोटी, सह–कोषाध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा रामबहादुर ढुङगाना,यामबहादुर सारु मगर, मीनबहादुर पराजुली, पदम गुरुङ, सुविस्ता तामाङ, बिमला पौडेल, गंगा पौडेल, गंगा थापा, मिना रावल, गुन बहादुर साठिघरे मगर, राम चौहान, दिलिप महतो र राजेश कुर्मी रहेका छन् ।
नयाँ कार्य समितिले अजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा दीपक पौडेल, विकल झा, बिनबहादुर बस्नेत र सुरज चित्रकार रहेका छन् ।
निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले पद तथा गोपनियताको शपथ गराएका थिए ।
शुक्रबार ओमानको मस्कटस्थित अलरिफ होटलमा सम्पन्न प्रथम अधिवेशनउद्घाटनका अवसरमा प्रमुख अतिथि पूर्वमन्त्री लेखकले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरुको भूमिका अपरिहार्य भएको भन्दै विदेशमा रहेर पनि मातृभूमिप्रति गरेको योगदानको प्रशंसा गरेका थिए ।
उनले देशमा नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको तथा स्थायी शान्ति र विकासको पथमा लम्किएको बताए ।
कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका कार्यरत नेपालीहरुको हरेक समस्या समाधानका लागि दूताबास सहयोग गर्न तत्पर रहेको औल्याईन् ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव डि.बि. क्षेत्रीको समेत सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरुले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई सहित सफलताको शुभकामना दिएका थिए ।