Prakash Adhikari September 7, 2020

 

प्रधानमन्त्री के.पी.ओलीको सरकारले देशबाट भोकमरीको अन्त्य भएको दावी गरिरहेको बेला मध्यपश्चिम नेपालका विपन्न परिवारका सदस्यहरु हात मुख जोड्ने खर्चको लर्को लागेर फेरि भारततर्फ फर्कन लागेका छन् । भारतमा लक डाउन भएपछि कोरोनाको त्रासको कारण बडो कष्टपूर्ण यात्रा गर्दै नेपाल आइपुगेका नेपालीहरु त्यति खेर पुनः भारततर्फ लागेका छन, जति बेला भारत विश्वमा कोरोना संक्रमणमा दोस्रो स्थानमा उक्लेको छ । भारतमा अहिले दैनिक ९० हजारको हाराहारीमा संक्रमितहरु थपिंदै गएका छन् । त्यहाँ कुल संक्रमितको संख्या ४३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।र झण्र्डै ७४ हजारले जीवन गुमाइसकेका छन् । काम गर्ने जनशक्ति नै एक ठूलो राष्ट्रिय स्रोत र साधन मानिएको अवस्थामा यी उत्पादनशील श्रमशक्ति कोरोना जस्तो घातक रोगको केन्द्र बन्दै गएको छिमेकी मुलुक भारतमा निर्वाध रुपमा प्रवेश गर्दा भारतसंगको सीमा विवादको नक्सा छापेर मात्र राष्ट्रवादी बनेको ढोल पिट्ने सरकारका प्रमुख भने बालुवाटारमा उपरखुट्टी लगाएर मस्त निदाउनुभएको छ । स्वदेश आएका नेपालीलाई काम दिएर उत्पादनशील क्षेत्रमा लगाउन सरकार पूरै असमर्थ देखिएको छ । यसम्बन्धमा बीबीसी न्यून नेपालीलेले तयार पारेको एक रिपार्ट :

विमला चौधरी /बीबीसी न्यूज नेपाली

नेपालगञ्ज(बाँके), २४ भाद्र । कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण भारतबाट आफ्नो गाउँठाउँ फर्किएका नेपालीहरू पुनः धमाधम भारत जान थालेका छन्।

जमुनाहा नाकाबाट कालापहाड(भारत) लाग्दै गरेकाहरूको गुनासो छ-गाउँमा माग्दा न ऋण मिल्यो न गरिखाने बाटो नै। न व्यापार व्यवसाय न रोजगारी।

कोरोनाभाइरसको महामारी शुरू भएपछि मर्नुपरे गाउँमै मरौँला भनेर भारतबाट अनेक उपाय अपनाएर आफ्नै गाउँ फर्केका हजारौँ हजार नेपालीको यात्रा फेरि छिमेकी मुलुक भारततर्फै मोडिएको छ।

लालाबालाको शिक्षा र बिहान बेलुकाको हातमुख जोर्ने उपायको सम्भावना उनीहरूले नेपालभन्दा भारततिरै देखेको बताए।

आफ्नै व्यवसाय
भारतको विभिन्न कम्पनीमा काम गर्दै आएका नेपालीहरू नेपालमा कुनै रोजगारी नपाएको र परिवार पाल्न मुस्किल भएको भन्दै पुनः भारत फर्किन लागेको बताउँछन्।

जमुनाहा नाका
कसैले यसअघि भारतमा गर्दै आएको व्यापार सञ्चालन गर्न त कसैले पुरानै कम्पनीले काममा बोलाएको भन्दै भारत जान लागेको बताए।

सुर्खेतका विनोद कुमार बिष्टले कोरोनाभाइरसको महामारीकै कारण होटेल व्यवसाय छोडेर दुई महिना अगाडि भारतबाट नेपाल फर्किएको बताउनुभयो।

अडिओ क्याप्शन सुरु हुँदैछ

भारतको गुजरातमा आफैँले सञ्चालन गरेको होटेलमा काम गरिरहेका बिष्ट सुर्खेतका केही कामदारलाई लिएर नेपाल आएको दुई महिनापछि फेरि भारत फर्किन लागेको बताउनुहुन्छ।

नेपालगञ्जको जमुनाहा नाका हुँदै भारत जाँदै गरेका बिष्टले भन्नुभयो, ‘सबै स्टाफहरूलाई घरमा छोड्न आउने बाध्यता भएर आएको थिएँ, अब फेरि गुजरात जाँदैछु, त्यहाँ आफ्नै होटल छ, होटलको भाडा तिर्नु छ, होटलको सरसामान के कस्तो भयो भनेर हेर्न पनि जाँदैछु।’

वातावरण सहज हुँदै गएमा भारतीय कामदार राखेर फेरि उतै होटल सञ्चालन गरेर बस्ने बिष्टले बताउनुभयो।

यसअघि भारतमै रोजगारी गरेर जीविका चलाउँदै आएका मुगुका विजया कार्की र उनका श्रीमान् पनि पुनः रोजगारीकालागि भारत जान लागेको बताउनुहुन्छ।

न रोजगार न व्यापार

“घरमा केही छैन, बच्चा सानै छन्। सधैँ भारतबाट कमाएर ल्याउँदै खाँदै गरेका थियौँ तर लकडाउनले गर्दा ६/७ महिना धान्नै मुस्किल भयो, नेपालमा न रोजगार छ न व्यापार , फेरि कमाइ गर्न भारत जानुपर्ने बाध्यता भयो।” विजयाले बताउनुभयो, “महामारी फैलिएपनि आफ्नो सुरक्षा आफैँ गर्नुपर्ला, किनकि रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आइसक्यो।”

“ऋण काढेर खाउँ भने पछि कसरी तिर्नेरु कमाउँदै खाँदै गर्ने गरिबलाई ऋण पनि कसले दिन्छ र ? ” उहाँले प्रश्न गर्नुभयो।

विजयासँगै भारत जानलागेका उनका श्रीमान् मदन थापाले भारतबाट कुनै कम्पनीले नबोलाए पनि उतै गएर कामको खोजी गर्ने बताउनुभयो।

“मजदुरी गर्ने भनेर जानलागेकोू”  बताउँदै थापाले भन्नुभयो, “शिमलातिर गएर काम खोज्ने हो, पहिले काम गरेको एकजना मालिकलाई चिनेको भरमा काम खोज्न जाँदैछौँ।”

बाँकेको खजुरा गाउँपालिकाका बासु शेखले भने लकडाउनको समयमा वृद्ध बाबुआमालाई खेतीपातीमा सघाउन नेपाल आएर फेरि भारत फर्किन लागेको बताउनुभयो।

भारतमा चाइनिज, पञ्जाबी, जापानी लगायत धेरै किसिमका खानाका परिकार बेच्ने आफ्नै धन्दा रहेको बताउने शेखले परिवार र छोराछोरी सहित वर्षौँदेखि भारतमै बस्दै आएको सुनाउनुभयो।

शेखले भन्नुभयो, “लामो समयसम्म लकडाउनका कारण भारतमा पहिले कमाएको पैसा पनि सकियो। परिवारलाई कि भारतमै केही धन्दा गरेर पाल्नु पर्‍यो, महामारीले गर्दा भारतमा पनि कारोबार नचल्ने जस्तो मानेर सबैलाई नेपाल फर्काएर ल्याउनु पर्ला भनेर जाँदैछु। ”

जमुनाहा नाका

परिवार सहित भारतमा बस्दै आएको बताउने सुर्खेत लाटीकोईलीकी नविना थापा दुईमहिनापछि फेरि भारत फर्किन लागेको बताउनुहुन्छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अत्याधिक बढ्न थालेपछि श्रीमान् र छोरालाई लिएर माइत आएकी नविना छोराको अनलाइन कक्षा सञ्चालन भएको भन्दै महामारीको उच्च जोखिम हुँदाहुँदै फर्किनु पर्ने बाध्यता भएको बताउनुभयो।

“यता रोजगारी पनि भएन, छोरो कक्षा ९ मा उतै पढ्छ, नेपालमा रोजगार मिल्ने भए त किन अर्काको देश फर्किनु पर्थ्यो ररु यतै जीविका चलाएर एउटा सन्तानलाई पढाउन सकिन्थ्यो तर जानै पर्ने बाध्यता भयो।”

आधार कार्डको सहारा

आधार कार्डकै सहारामा फेरि सपरिवार भारत फर्किन लागेको नविनाले बताउनुभयो।

भारतको महाराष्ट्र प्रदेशस्थित सीके विल्डर कम्पनीमा काम गर्दै आएको बताउने दैलेखका केशव कार्कीले पनि ६ महिनापछि भारत फर्किन लागेको बताउनुभयो।

लकडाउन हुनुभन्दा पहिले गत फागुनमा कम्पनीबाट बिदामा घर आएको बताउँदै उहाँले भन्नुभयो, “अहिले भारत सरकारले पनि लकडाउन खुकुलो पारेको अवस्था छ, नेपालमा काम खोज्नुभन्दा यसअघि काम गर्दै आएको भारतकै कम्पनीले बोलाएको छ त्यसैले भारततिर जाँदैछु। ”

नेपालगञ्जको जमुनाहा नाकामा केही दिनदेखि रोजगारीका लागि भारतजानेहरूको भिड देख्न सकिन्छ।

आजभोलि दैनिकजसो १५० देखि २०० सम्म मानिसहरू भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ।

भारतमा रोजगारीका लागि जान चाहने अधिकांशको भारतीय कम्पनीमा काम गरेको परिचय पत्र र आधारकार्ड रहेकोले आधारकार्डकै आधारमा नेपाली कामदारहरूलाई भारत जान दिइरहेको ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले जानकारी दिनुभयो।

Share Now

Leave a comment.