बाह्रबिसे(सिन्धुपाल्चोक)। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन ठाँउमा गएको पहिरोले घरसहित लतार्दा हराएकामध्ये ७ जनाको शव फेला परेको छ भने २४ जना अझै बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आइतवार बिहानसम्म सातवटा शव भेटिएको छ भने दुई दर्जन मानिस हराइरहेका छन्। पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको सहित अन्य ४ जनाको शव फेला परेको छ र अरुको खोजी कार्य जारी छ ।
नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार पहिरोले सबैभन्दा धेरै नागपुजे, डाँडागाउँ भीरखर्क र ताङ्सारमा असर पारेको छ।
नागपुजे पुगेकी पाख्रिनका अनुसार पहिरोले ती ठाँउमा ११ वटा घरको पहिरोले नामनिसान सबै मेटेको छ।
https://www.facebook.com/bajirsingh.bhandari.9/posts/2758710931032024
प्रमुख जिल्ला अधिकारी दाहालले सबै स्थानमा गरेर २ सय २२ परिवार उच्च जोखिममा परेका र तिनलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने देखिएको बताउनुभएको छ।
यसअघि पनि सिन्धुपाल्चोकका जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा परी धेरै मानिसको ज्यान गएको थियो । त्यसपहिले बाह्रबिसेमा नै पहिरो र बाढीले विनास निम्त्याएको थियो ।
शनिवार राति परेको अविरल बर्षाले मध्यरातपछि १ बजेतिर ती स्थानमा पहिरो आएको थियो ।
जिल्लाका प्रहरी प्रमुख राजन अधिकारीका अनुसार पहिरोका कारण त्यहाँ धाँजा फाटेको छ। जोखिममा परेका परिवारलाई छिट्टै सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था छ।
पाँच वर्षअघि गएको भूकम्पबाट प्रभावित पहाडी भेगमा बारम्बार पहिरोको समस्या देखिएको अधिकारीहरू बताउँछन्।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।


















