काठमाडौं, ३१ भाद्र । बुधबार एकाबिहानै काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ५ बजे १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपूर्वमा पर्छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज गएको भूकम्प ६ रेक्टर स्केलको रहेको र त्यो २०७२ सालमा गएको विनाशकारी भूकम्पकै पराकम्प भएको बताउनुभएको छ ।

अमेरिकन जियोलोजिकल सर्भेले भने बुधबार गएको भूकम्प ५ दशमलव ३ रेक्टर स्केलको भएको जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु कोदारी राजमार्गबाट ११ किलोमिटर उत्तरपश्चिममा रहेको अमेरिकन जियोलजिकल सर्भेले जनाएको छ।
भर्खर भूकम्प गएका स्थानहरु नक्सामा
ठूला भूकम्प गएपछि पराकम्प निकै लामो समयसम्म गइरहने बताउदै अधिकारीले गोरखा भूकम्पको पराकम्प कम्तिमा पनि १० वर्षसम्म गइरहने अनुमान गरिएको बताउनुभएको छ ।ठूलो भूकम्प गएपछि सयौँ वर्षसम्म पनि पराकम्प गइरहने उहाँको दावी छ ।
अधिकारीले बुधबार बिहान गएको ६ रेक्टरस्केलको भूकम्प मध्यम खालको भएको बताउदै ७ रेक्टर स्केलदेखि माथिका भूकम्पलाई मात्रै विनासकारी मानिने बताउनुभयो । पाँच वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो।
अहिलेसम्म गोरखा भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका ५ सय ४८ वटा परकम्प गइसकेका छन्।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताउनुभयो ।
बिहान झिसमिसेमै भूकम्प आएकोले मानिसहरु भने आत्तिदै घरबाट बाहिर निस्केर चोकचोकमा भेला भएका थिए ।


















