काठमाडौं, १४ माघ । निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले एक अर्ब रुपैयाँ खर्चिंदै एटीआर ७२–५०० सिरिजको नयाँ जहाज भित्र्याएको छ। नयाँ एटीआर जहाजसँगै बुद्धका पाँचवटा एटीआरसहित कुल दशवटा जहाज छन्।
हाल बुद्धले फ्रान्सको एटीआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटीआर ७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटीआर ४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाजमार्फत आफ्नो सेवा दिइरहेको छ। नयाँ जहाजले अहिले सेवा दिइरहेकै गन्तव्यमा सेवा दिने बुद्ध एयरकी बजार व्यवस्थापक विनिता थापाले जानकारी दिइन्।
बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बेस बनाएर नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा सेवा दिँदै आएको उनले जानकारी दिइन्। यसैगरी बुद्धले पोखरालाई बेस बनाएर भरतपुर र भरैहवा, काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ को सेवा पनि दिँदै आएको छ। यसैगरी बुद्धले विराटनगरबाट तुम्लिङटार, पनि उडान गरिरहेको छ। साथै बुद्धले नयाँ वर्षदेखि पोखराबाट नेपालगन्जमा समेत उडान गर्ने भएको छ।
आन्तरिक उडानमा धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनी बुद्ध हो। बुद्धको बजार हिस्सा ६० प्रतिशत हाराहारी छ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बुद्ध एयरले बिहीबार साझ ६:३५ मा त्रिभुवन विमानस्थलमा नयाँ जहाज ल्यान्ड गरेको छ। पाँचौं एटीआर ७२ जहाज आएपछि उडान संख्या उल्लेख्य दरमा वृद्धि गर्ने तयारीमा बुद्ध लागेको छ। हाल दैनिक ३५ उडान गरिरहेको कम्पनीले नयाँ जहाज थपिएपछि उडान संख्या बढाएर ५० पु¥याउने योजना बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ जहाजलाई ‘९एन–एएमएफ’ कलसाइन दिएको छ।