काठमाडौं, ४ असोज । आइतवार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ दिनुभएको जानकारी अनुसार नीतिगत छलफल भएको छ तर व्यक्तिहरूबारे केही कुराकानी भएको छैन। आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग त्यसबारेमा पछि छलफल हुन्छ।
सरकारलाई अझ प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव सचिवालयमा प्रवेश गरेपछि यसमा प्रधानमन्त्रीले स्वयंले तीन विकल्प प्रस्तुत गर्नुभएको नेकपा सचिवालय सदस्यहरुले बताएका छन् ।
प्रधानमन्त्रीले अहिले रहेका सबै मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने र सबै मन्त्रीहरु नयाँ ल्याउने, खाली रहेका मन्त्रालयमा मात्र मन्त्री थप गर्ने र हालसम्म दुई बर्ष पूरा गरेकालाई बिदा दिई तिनका स्थान र खाली मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तथा दुई बर्ष पूरा नगरेकालाई काम गर्ने समय दिने विकल्प राख्नुभएको बताइएको छ ।
बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैजनालाई फिर्ता गरेर फेरि राम्रो काम गर्नेलाई दोहोर्याउने र यसो गर्दा बरिष्ठ तथा योग्यहरुका साथै गर्न सक्ने युवाहरुलाई अगाडि सार्नुपर्ने सुझाब दिनुभएको थियो । उहाँले जनतास्तरमा काम गरेको अनुभूति दिने गरी पुनर्गठन गर्न पर्ने विचार राख्नुभएको थियो ।
सरकारमा रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर बादलले भने पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई दिनुपर्ने सुझाव राख्नुभएको थियो ।
अहिले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा मन्त्री पद रिक्त छ।
प्रवक्ता श्रेष्ठका अनुसार आइतवारको बैठकमा नीतिगत रूपमा चारवटा विषयको कार्यसूची बनाइएको छ।
सचिवालय बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय गर्नका सजिलो पार्ने गरी आधार तयार पारिदिने, साङ्गठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने सङ्गठन र विभागका निर्णयहरूबारे छलफल र अनुमोदनको प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीका रिक्त पदपूर्ति गर्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई आर्थिक सहयोग गर्नेसम्बन्धी एजेण्डा राखिएका छन् ।
सत्तारूढ पार्टीको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदा सरकारी स्रोत र साधनमा सत्तारुढ दलको रजाईँ भएको आलोचना आएको बेला आइतबारको सचिवालय बैठक पहिले माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको प्यारिस डाँडाको भवनमा बसेको हो ।
प्यारिस डाँडामा अहिले नेकपाका जनवर्गीय सङ्गठनहरूको कार्यालय छ भने नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा छ।
धुम्बराहीको कार्यालय रहेको भवन पनि विवादित छ । सो भवन यति ग्रुपले सरकारी जग्गामा निर्माण गरेको पासाड.ल्हामु प्रतिष्ठानको कार्यालय भवन हो ।
नेकपा बैठक सोमबार पनि जारी रहने बताइएको छ ।


















