दुबाई(संयुक्त अरब इमिरेट्स), २० असोज । भारतको चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग.(आईपीएल) २०२० अन्तर्गतको १९ औं खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ ।
यो चौथो जितसंगै दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य भारतीइ क्रिकेट टिमका कप्तान तथा रोयल च्यालेञ्जर्स बैंगलोरका कप्तान बिराट कोहलीको टिमले हासिल गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर मात्र १सय ३७ रन बनाउन सक्यो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले३९ बलमा २ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४३ रन बनाए भने वासिंगटन सुन्दरले १७, आरोन फिंचले १३, नभदीप अमरदीप सैनीले १२, मोइन अलीले ११ शिभम् दुबेले ११, ए भी डेभिल्लीयर्सले ९ ,मोहम्मद शिराजले ५, देवदत्त पडिक्कलले ४, र इसुरु उडानाले १ रनको योगदान दिए ।
दिल्लीको बलिंगमा दक्षिण अफ्रिकी पेसर कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिए भने अक्षर पटेल र अर्निट अर्नो नोर्टजेले समान दुई दुई विकेट लिए । रभीचन्द्रन आश्विनले एक विकेट लिंदा हर्षल पटेल विकेटविहिन रहे।
दिल्लीको ब्याटिंग
टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो।
दिल्लीको लागि मार्कस स्टोइनिसले २६ बलमा ६ चौका र २ छक्काको मद्दतले ५३ रन बनाए । त्यस्तै ओपनर पृथ्वी शाँले २३ बलमा ५ चौका र २ छक्काको मद्दतले ४२, रिशभ पन्तले २५ बलमा ३ चौका र २ छक्काको मद्दतले ३७, शिखर धवनले २८ बलमा ३ चौकाको मद्दतले ३२ तथा श्रेयस ऐयर र शिमरन हेटमायरले समान ११ /११ रन बनाए।
बैंगलोरको बलिंगमा मोहम्मद सिराजले २ तथा मोइन अलि र इसुरु उडानाले समान एक एक विकेट लिए।
अंकतालिका

पाँचौ खेल खेल्दा चौथो जित दर्ता गर्दै दिल्ली ८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। दिल्लीले हालसम्म पञ्जाब, चेन्नाई र कोलकातालाई पराजित गरिसकेको छ भने हैदरावादबिरुद्धको खेलमा भने हार ब्यहोरेको थियो ।
बैंगलोर ५ खेलमा ३ जित र २ हार पछि तेश्रो स्थानमा यथावत रहेको छ। मुम्बई ४ खेलमा ३ जित र १ हार सहित समान ६ अंक रहे पनि बैंगलोर भन्दा नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा रहेको छ।
लिग अन्तर्गत दिल्लीले आगामी खेल शुक्रबार राजस्थान रोयल्स बिरुद्ध तथा बैंगलोरले शनिबार कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।
मंगलबार मुम्बई इण्डियन्स् र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। खेल शेख जायद स्टेडीयममा ७ ः ४५ बजे राति सुरु हुनेछ।


















