काठमाडौं,२० असोज। नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल चयन हुनुभएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको ४ बर्षे कार्यकाल सकिएसँगै बैंक संचालक समितिको मंगलबार बसेको बैठकले सञ्चालक उपेन्द्र पौड्याललाई नयाँ अध्यक्ष चुनेको हो ।
बैंकको प्रमुख कार्यकारी अधिकृत भएर लामो समय विताउनुभएका बैंकर एवं समाजसेवी पौड्याल २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो । नबिलमा प्रवेश गरेको करिब ३ वर्षपछि अध्यक्षको जिम्मेवारी पाउनुभएका पौड्याल ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुका एसिया प्यासिफिकका क्षेत्रीय प्रतिनिधि समेत रहनुभएको छ ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुृभएका पौड्याल यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका पौडेलले सोही सस्थामा १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबी फाइनान्सको व्यवस्थापन सम्हाल्न पुग्नुभएको थियो । एनएमबी फाइनान्सलाई बैंकमा स्तरोन्नति गराएर उहाँले १७ वर्ष अनवरत सेवा दिनुभएको थियो ।
नवनियुक्त अध्यक्ष पौड्यालले १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित ३४ वर्षको बैंकिङ अनुभव संगाल्नु भएको छ ।
होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गर्नुभएका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गर्नुभएको थियो । त्यसपछि तात्कालिन ग्रिनलेज बैंक हालको स्टयान्डर्ड चार्टर्डमार्फत बैंकिड. क्षेत्रमा आउनुभएको हो । उहाँले सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।
यसैगरी नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट अध्यक्ष र सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ ।

अध्यक्ष शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आउनुभएका शम्भुप्रसाद पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । उहाँ सर्वसाधारण सेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएको थियो ।
यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रेहका बिदा हुनुभएको छ । उहाँ पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त हुनुभएको थियो । त्यसपछि, सन् २०१६ मा सञ्चालक नियुक्त हुनुभएका उहाँको पदावधि पनि समाप्त भएको छ ।


















