काठमाडौं, २७ असोज । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेञ्चर प्रालिका अध्यक्ष तथा प्यासेफिक एशिया ट्राभल एशोसियसनका नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे पाटाका सचिव/कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
विश्वका ७७ मुलुकका ६ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संगठनको यही १२ सेप्टेम्बरमा भएको अनलाइन चुनावमा पाण्डेले मलेसियाका प्रतिद्वन्द्वी फइज फधिलिल्लाहलाई पराजित गरी यो प्रतिष्ठित पदमा निर्वाचित हुनुभएको हो ।
पाटाको उपाध्यक्ष पदमा भियतनामका उम्मेद्धार हाई हो विजयी बन्नुभएको छ । उहाँले कम्बोडियाका प्रतिस्पर्धी डा. सोखोम थोकलाई पराजित गर्नुभएको थियो ।
पाटाको विधानअनुसार वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङ आगामी कार्यकालको अध्यक्षता गर्नुहुने बताइएको छ ।
पाटाका सचिव।कोपाध्यक्ष निर्वाचित पाण्डे एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेञ्चर्सका अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, सर्मिट एयरका डाइरेक्टर र अलफ्ट काठमाडौं होटल तथा छाँया सेन्टर प्रालिका निर्देशक समेत हुनुहुन्छ ।
नेपालका स्थापित पर्यटन व्यवसायी पाण्डे यसअधि पाटा नेपाल च्याप्टरका अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालका अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वोर्ड सदस्यमा कार्यरत रहनुका साथै विभिन्न पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।


















