काठमाडौं, १० कार्तिक। आज बडादशैंको मुख्य दिन हो । नेपालीहरुको राष्ट्रिय चाड तथा समस्त हिन्दुहरुको महान चाडको रुपमा रहेको विजयादशमीमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर स्वदेश तथा विदेशमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।
टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले दिनुभएको छ । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभएको छ ।
“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा.डा. गौतमले भन्नुभयो ।
उत्तम साइत कहाँ कति बेला ?
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार नेपालमा आज १०ः१९ बजेको साइत उत्तम रहेको छ भने भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ ९कात्तिक ९ गते० बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत उत्तम रहेको छ । यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।
यस्तै जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९ः४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
को कता फर्कने ?
हिन्दु धर्मशास्त्र अनुसार शुभकार्यमा चन्द्रमा दाहिना वा सम्मुख पार्नुपर्ने नियम छ । आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशै कै सबैभन्दा महत्वपूर्ण दिन हो ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ :
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर आशीर्वाद दिइन्छः
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।
तुलजा भवानी यात्रा
महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो । समितिले दिएको साइतमा बिहान ८ः४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।


















