आबुधावी(संयुक्त अरब इमिरेट्स), १० कार्तिक । भारतको चर्चित टी २० प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तर्गत युएईमा भैएको ४५ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।
शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो।
राजस्थानको लागि ओपनर बेन स्टोक्सले अविजित शतक बनाए जुन क्रममा मात्र ६० बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय ७ रन बनाए। सन्जु स्यामसनले अविजित ५४ रन बनाए जुन क्रममा ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा २ वटा शतक बनाउने स्टोक्स पहिलो ब्याट्सम्यान बनेका छन्। आईपीएलमा ४० औं खेल खेल्ने क्रममा स्टोक्सले २ शतक र १ अर्धशतक बनाएका छन्।

ओपनर रोबिन उथप्पा १३ तथा कप्तान स्टिभ स्मिथ ११ रन बनाएर जेम्स प्याटीन्सनबाट आउट भएपछि तेश्रो विकेटको लागि स्टोक्स र स्यामसनले अविजित १ सय ५२ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए।
मुम्बईको बलिंगमा जेम्स प्याटिन्सनले २ विकेट लिएका थिए ।
मुम्बईको ब्याटिंग
यसअघि टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।
मुम्बईको लागि हार्दिक पान्ड्याले अविजित ६० रन, सुर्यकुमार यादबले ४०, इशान किशनले ३७ तथा सौरभ तिवारीले ३४ रन,क्वीन्टन डे कक तथा काइरन पोलार्ड ६ । ६ तथा कुनाल पाण्डेय ३ रन बनाएका थिए ।
राजस्थानको बलिंगमा जोफ्रा आर्चर र श्रेयस गोपालले समान २ विकेट लिए। कार्तिक त्यागिले १ विकेट लिए।
अंकतालिका र आगामी खेल

जितपछि राजस्थानको १२ खेलमा ५ जित र ७ हार बेहोर्दै १० अंक पुगेको छ र अंकतालिकामा पुछारबाट छैठौं स्थानमा पुगेको छ। राजस्थानले प्लेअफ पुग्न बाँकी २ खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्नेछ भने कोलकाता, पञ्जाब र हैदरावाद बढीमा १४ अंकमा रोकिनुपर्छ। सो भएको खण्डमा अंक बराबरी भएता पनि नेट रन रेटमा सम्भावना रहन्छ।
हार पछि पनि मुम्बई अंकतालिकामा ११ खेलमा ७ जित र ४ हार बेहोर्दै १४ अंकका साथ शिर्ष स्थानमा यथावत रहेको छ। समान अंक तथा जित र हारका बाबजुद दिल्ली र बैंगलोर नेट रन रेटमा पछि पर्दै दोश्रो र तेश्रो स्थानमा रहेका छन्। मुम्बई प्लेअफ पुग्न एउटा जित मात्र आवस्यक रहेको छ ।
राजस्थानको जितपछि अधिकारिक रुपमा चेन्नाई भने दोश्रो चरण पुग्न असफल भएको छ। लिग इतिहासमै चेन्नाई पहिलो चरणबाट बाहिर भएको यो पहिलो पटक हो।
राजस्थानले आगामी खेल पञ्जाबबिरुद्ध शुक्रबार तथा मुम्बईले बुधबार बैंगलोर बिरुद्ध खेल्ने तालिका रहेको छ।
सोमबारको खेलमा कोलकाता र पञ्जाबीच प्रतिस्पर्धा हुनेछ।


















