काठमाडौं, ११ कार्तिक । बडा दशैंको समाप्तिसंगै नेपालमा कोरोना भाइरसका सक्रमित बिरामीहरुको संख्या ह्वात्तै बढ्न सक्ने आँकलन गरिएको छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले मन्त्रालयको पछिल्लो तथ्याङ्क विश्लेषण गर्दै भन्नुभएको छ, नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्छ।
पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्, उहाँले भन्नुभएको छ, ‘परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।’
‘आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्’, उहाँले थप्नुभयो।
नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी बताउदै यही लहर नै घातक हुन सक्ने उहाँको तर्क छ।
आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ।
उहाँले भन्नुभएको छ, ‘आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ।’
नेपालमा विजया दशमीको दिन १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा कोभिड १९ कारण १५ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८ सय ६२ पुगेको छ।
गत २४ घण्टामा ५ हजार ६ वटा पीसीआर परीक्षण गरिएको थियो।
स्थिति
मंगलबार अपरान्हसम्म २४ घण्टाको अवधिमा ४ हजार ५ जना निको भएसँगै नेपालमा हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ।
नेपालमा सोमवारसम्म कुल २ लाख ५९ हजार ८ सय ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
कार्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित भएका थिए।
असोज २४ गते ५ हजार ८ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको थियो।(बीबीसीबाट)


















