
काठमाडौं, १८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्कर्षमा पुगेको विवादप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चासो राख्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमसँगलाई आफ्नै निवासमा बोलाएर पार्टी संकट समाधानमा मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सञ्चारकर्मीहरुलाई बताउनुभएको छ ।
‘पार्टीको एकताका लागि तपाईंले विगतमा जस्तै भूमिका खेल्नुपर्यो। पार्टीलाई फुटबाट जोगाउन तपाईंको सक्रियता जरुरी छ’ राष्ट्रपतिको भनाई उद्घृत गर्दै सुवेदीले भन्नुभएको छ । उहाँले
राष्ट्रपतिसमक्ष नेता गौतमले आफू दत्तचित्त भएर पार्टी एकताका लागि पहल गर्ने बताउनुभएको पनि जानकारी दिनुभयो ।
लामो समयको अन्तरालपछि गत शनिबार दुई अध्यक्षबीच भएको भेटका अवसरमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको संस्थागत निर्णय अनुरुप सरकार सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले आफूखुसी सरकार चलाएको गुनासो गर्नुभए पछि प्रधानमन्त्रीले सरकार सञ्चालनमा अधिक हस्तक्षेप भएको भन्दै अलग्गै पार्टी गठन गर्न प्रचण्डलाई चुनौती दिनुभएको थियो ।
यही कुरा आइतबार पार्टी अध्यक्ष प्रचण्डले सचिवालयका पूर्वप्रधानमन्त्री द्धय झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर बादललाई आफ्नो निवास बोलाएर जानकारी गराउनुभएको थियो ।
त्यसै दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुड.लाई पार्टीभित्रको विषम परिस्थितिको बारेमा जानकारी गराउदै खराब परिस्थितिमा पार्टी फुटाएर पुरानो नेकपा एमाले पुनर्संगठित गर्नुपर्ने अवस्था आउने बताउनुभएको थियो ।
त्यहि दिन दोस्रो लटमा प्रधानमन्त्री पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई यही कुरा सुनाएपछि उहाँले पार्टी अभूतपूर्व संकटमा पर्न लागेकोले सबै नेता र कार्यकर्तालाई पार्टी एकता अविभाज्य राख्न अपील गर्नुभएको थियो ।
त्यसपछि यो पार्टी अब एकजुट रहन नसक्ने सन्देश देशभर फैलिएको छ ।