
काठमाडौं, १८ कार्तिक । भारत सरकारले २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटका आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैया प्रदान गरेको छ ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभएको हो ।
भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो ।
अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको उपसचिव रमेश अर्यालले जानकारी दिनुभएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिंदै कोभिड–१९ विरुद्ध पनि सहकार्यको आवश्यकता रहेको बताउनुभएको थियो ।
भेटका क्रममा राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाल र भारतबीच धेरै पुरानो, अन्यत्न निटक र मित्रवत सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ ।
दूतावासले आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको जनाएको छ ।