
सानेपा (ललितपुर), १८ कार्तिक । पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर के.सी.को निधनमा शोक मनाउन नेपाली कांग्रेसले तीन दिन झण्डा झुकाउने भएको छ भने बुधबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने भएको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बैठकले उहाँको निधनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यसमितिमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर के.सी.को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य, प्रतिनिधि सभाका सदस्य एवं प्रतिष्ठित उद्योगपति के।सी।को कार्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो ।
नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका के.सी.को जन्म २०१४ सालमा भएको थियो ।
उहाँ २०७४ को संघीय प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य हुनु भएको थियो ।