Prakash Adhikari November 4, 2020

 

वाशिंटन डी.सी(संयुक्त राज्य अमेरिका), १९ कार्तिक(बीबीसी) । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन्।

कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ।

बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।

कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसाल्नुभएको थियो।

श्रीमान्‌सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उहाँले भन्नुभयो ‘आज निर्वाचनको दिन हो। त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ।’

राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसक्नुभएको थियो ।

अमेरिकी चुनावले कसरी काम गर्छ ?

  • अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन्। अतः राष्ट्रपति कि डेमोक्र्याट (जो बाइडन) हुनुहुन्ट कि रिपब्लिकन (डोनल्ड ट्रम्प)।
  • हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन्।
  • दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्नुहुन्छ । जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ। जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ।
  • अहिले सारा ध्यान ट्रम्प र बाइडनको निर्वाचनमा छ तर मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन्।

कोरोनाभाइरस सङ्क्रमितले पनि मत खसाल्न पाउने

कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले जनाएको थियो।

मतदान केन्द्रमा पुगेपछि सङ्क्रमित व्यक्तिले त्यहाँ रहेका अधिकारीहरूलाई जानकारी गराउनुपर्छ र उनीहरूले यी कुरा गर्नुपर्छः

  • मास्क लगाएको हुनुपर्छ
  • अरू व्यक्तिभन्दा छ फिट टाढा बस्नुपर्छ
  • मत खसाल्नुअघि र खसालिसकेपछि हात धुनुपर्छ वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।

विज्ञापनमा कति खर्च भएको छ ?

अमेरिकी चुनावी अभियानहरूमा विज्ञापन एउटा महत्त्वपूर्ण हिस्सा हुने गरेको छ र यो वर्षको चुनाव पनि अपवाद हुन सकेन।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ।

त्यसमध्ये अधिकांश रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ।

राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले चाहिँ ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको छ।

मतदान
ट्रम्पको चुनावी अभियानले आफ्ना प्रतिद्वन्द्वीले भन्दा थप चार करोड ३० लाख डलर डिजिटल विज्ञापनमा खर्च गरेको हुन सक्ने जनाइएको छ।

यो कन्टार । सीएमएजीले उपलब्ध गराएको आज बिहानसम्मको विज्ञापन खर्च विवरण हो।

केही हल्काफुल्का कुराः

मतदान केन्द्रअगाडि सङ्गीत र नृत्य

फिलाडेल्फियामा मतदाताहरू मतदानका लागि लामबद्ध हुन थालेपछि मतदान केन्द्रअगाडि सङ्गीत र नृत्य कार्यक्रम शुरू भयो।

जोय टु द पोल्स नामक एउटा संस्थाले तनाव हटाउन र मतदान केन्द्रसम्म सङ्गीत पुर्‍याउन कार्यक्रम गरेको जनाएको छ।

पल रुडका कुकिज

गत हप्ता न्यूयोर्कका बासिन्दाहरू मत खसाल्नका लागि लामबद्ध भइरहँदा अभिनेता पल रुड आएर उनीहरूलाई कुकिज बाँड्न थाले।

ब्ल्यूबेरी क्रीम भएको कुकिज मानिसहरूले मन पराए र खुशी भए।

१२ जना बासिन्दा

सबैभन्दा शुरूमा नतिजा घोषणा गर्ने नगरमध्ये क्यानाको सीमा नजिक पर्ने डिक्सभिल नोच एउटा हो।

त्यहाँ जम्मा १२ जना बासिन्दा छन्। ती सबैले मध्यरातपछि मतपेटिका राखिएको एउटा विशेष कोठामा मतदान गर्छन्।

अरू ठाउँका नतिजा सार्वजनिक हुनुभन्दा कैयौँ घण्टा पहिला त्यहाँको नतिजा घोषणा हुन्छ।

 

Share Now

Leave a comment.