
काठमाडौं, २० कार्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आउनुभएका सेनाध्यक्ष नरावणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।
सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो। नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नुभएको थियो।
यसले नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ। हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण सक्नुभएको छ र १८औं मानार्थ महारथीको पदवी बिहीबार नरावणेले पाउँदै हुनुहुन्छ। नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाइसक्नु भएको छ ।।
नरावणेले आज बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।
आज नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।
दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।
आजै उहाँको सम्मानमा आज नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरावणेले शुक्रबार औपचारिक भेट गर्नुहुनेछ। नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्सामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उहाँले गर्ने उच्चस्तरीय भेटघाट महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।