
प्रकाश अधिकारी
काठमाडौं, २० कार्तिक । सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीभित्र देखिएको विवाद अरु चर्कने देखिएको छ । बुधबार प्रधानमन्त्री के.पी. शर्मा ओलीले सुरु गर्नुभएका दुई बहसले अब यो पार्टी एक रहन नसक्ने संकेत दिएका छन् ।
प्रधानमन्त्री ओली बुधबार बिहानै उपप्रधानमन्त्री इश्वर पोखरेलको साथ प्रदेश नं १ का नेकपाका नेताहरुमध्ये आफूनिकट नेताहरुसंग भर्चुअल सम्बाद गर्नुभयो बहुदलीय जनवादको बारेमा बहस चलाउनुपर्ने धारणा राख्नुभयो । अपरान्ह उहाँले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन समारोहमा आफूले प्रधानमन्त्रीको पद सरक्क छोडेर जान नसक्ने बताउनुभयो ।
पुरानो एमाले व्युताउने संकेत
नेकपाका प्रदेश १ का अध्यक्ष देवराज घिमिरेका अनुसार बुधबार विहान प्रधानमन्त्रीले प्रदेश १ का नेताहरुसँग पार्टीभित्र देखिएको पछिल्लो समस्याबारे छलफल गर्नुभएको थियो । र छलफल
पछिल्लो राजनीतिक गतिरोधबारे केन्द्रित रहेको थियो ।
आफ्नो निर्वाचन क्षेत्र र पुख्यौली घर रहेको प्रदेश १ का नेतासँग प्रधानमन्त्री ओलीले आफूले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्र समझदारी गरेर नै सरकारको नेतृत्व गरेको बताउदै अर्को साइडबाट छुट्टै षडयन्त्र हुने गरेको गुनासो गर्नुभएको थियो।
‘पार्टीभित्र अनेक खालका षडयन्त्र भइरहेको छ, सरकार असफल बनाउने प्रयत्न भएको छ, एकातिर समझदारी गर्यो,साइडबाट अर्कै षडयन्त्र भइसक्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र विचारको समस्या भएकै कारण गतिरोध देखिएको उल्लेख गर्दै भन्नुभएको थियो,‘पार्टी विचारबाट बन्ने हो, अब विचारमाथिको बहस सुरु गर्नुपर्छ, हामीले महाधिवेशनसम्म जनताको जनवाद भनेका छौं, तर अब यसले मात्रै जनताको भावनाको सम्मान गरेन भने बहुदलीय जनवादको पनि बहस सुरु गर्नुपर्ने हुनसक्छ ।
छलफलमा प्रधानमन्त्री ओलीले आफू एकता कायम राख्ने पक्षमा रहे पनि अर्को पक्षबाट विभिन्न समीकरण बनाउने र बहुमतीय खेलतिर लगेर आफूलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभएको थियो ।
छलफलका क्रममा केही नेताहरुले पूर्वमाओवादीसँग एकता गरेर गल्ति भएको मनसाय व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘ऐतिहासिक आवश्यकताका आधारमा एकता भएकोले त्यसमा अन्यथा मान्नुपर्ने कारण छैन।’
अब एकतालाई जोगाउन सकिन्छ कि सकिदैन भन्ने प्रश्नमा प्रधानमन्त्री ओलील्े त्यसलाई जोगाउने प्रयत्न नै आफूले गर्ने ‘तर, परिस्थिति कसरी अगाडि बढ्छ त्यसमै भरपर्ने बताउनुभएको थियो ।
प्रदेश १ का नेता तथा कार्यकर्ताहरुले सो छलफलमा मन्त्रिमण्डल पुनर्गठन,पार्टी कमिटीको बैठक र प्रदेश सरकारको पुनर्गठन लगायत पार्टी र सरकारका विभिन्न तह तथा संसदीय दलका जिम्मेवारी हेरफेरले पार्टी एकता जोगाउने विषयमा पनि जिज्ञासा राखेका थिए । सो प्रश्नको जवाफमा भने प्रधानमन्त्रीले ओलीले अर्का अध्यक्षसँग सहमति नभई केही नहुने उल्लेख गर्नुभएको थियो।
सत्ता नछोड्ने घुर्की
बुधबार नै प्रधानमन्त्री ओलीले अर्को मञ्चबाट पनि आफ्नो विरोध गर्नेहरुलाई कडा चुनौती दिनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उहाँले सरकार फेर्न र बदल्न धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरेको उल्लेख गर्दै आफूले कुनै पनि हालतमा सरकारको नेतृत्व नछोड्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशमा अस्थिरता निम्त्याउने व्यक्तिहरुको कमी नरहेको उल्लेख गर्दै भन्नुभयो, ‘तपाईहरु नै भन्नुहोस के मेैले अहिले राजिनामा दिन हुन्छ ? मैले राजिनामा दिनु भनेको देश बर्वादतिर जानु होइन । त्यसकारण म राजीनामा दिने बाला छैन । ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस् ।’
प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा कोभिडसँगको लडाई र गरिबीसँगको लडाई जितेर समृद्धि हासिल गर्ने पनि बताउनुभयो ।
असन्तुष्ट पक्षको अस्तित्वमा प्रश्न
प्रधानमन्त्री ओलीले आवश्यक परेको खण्डमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादी पार्टी व्युताउने तर सरकार र पार्टीको नेतृत्वमा वर्तमान पार्टीका अन्य नेताहरुलाई नसुम्पने प्रतिबद्धता देखाएपछि उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउने सत्तारुढ नेकपाका नेताहरुको अस्तित्व संकटमा परेको छ ।
यत्तिकै निहुरमुन्टी न भएर पार्टीमा बस्दा पनि आफू पनि अपमानित हुने र आफ्ना कार्यकर्ताको संरक्षण पनि गर्न नसकिने र प्रधानमन्त्रीको कार्यशैलीमा सुधार ल्याउने प्रयास साकार नहुने भएपछि उहाँहरुका लागि पनि अबको कदम गर वा मरको स्थिति बनेको छ ।
पार्टीको केन्द्रिय समिति, स्थायी समिति र सचिवालयमा समेत बहुमत रहेकोले असन्तुष्ट पक्ष पार्टी फुटेमा पनि मूलधार आफू हुने पार्टी र चुनाव चिन्ह आफ्नो हुनेमा ढुक्क छ ।
तर एमाले ब्युताउने खेलमा लाग्नुभएका प्रधानमन्त्री के.पी. ओलीले कस्तो कदम चाल्नुहुन्छ भन्ने उहाँहरुले पत्तो पाउनुभएको छैन् । पार्टीभित्रका आफूसंग विमति राख्नेलाई किक हानेर आजीवन प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लालसा बोक्नुभएका प्रधानमन्त्री ओली पार्टी फुटेमा नेपाली कांग्रेससंग मिलेर सरकार बनाउने दाउमा हुनुहुन्छ ।