Prakash Adhikari November 5, 2020

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसमा देखिएको विवाद समाधान गरी पार्टीको १४ औं महाधिवेशनको तिथि मिति र कार्यतालिका तय गर्ने वातावरण निर्माणको लागि आज पनि पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बस्दैछ।

यस अघि कात्तिक १७ गते बसेको बैठकमा सबै सहभागीहरुले आफ्नो विचार राख्ने क्रम नसकिएकोले सहमति जुट्न सकेको थिएन।

१८ गतेको लागि तय गरिएको जारी बैठक कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनपछि बैठक स्थगित भएको थियो। के.सी.को निधनमा पार्टीले बुधबार केन्द्रीय कार्यालयलगायत देशभरका जिल्ला कार्यालय बन्द गर्ने र तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको थियो ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा पार्टीका निर्वाचित महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष लगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल हुनेछ ।

कांग्रेसका २७ जना केन्द्रीय सदस्यहरुले निर्वाचित कार्यसमितिको निर्धारित समयावधि समाप्त भैसकेपछि विशेष परिस्थिति देखाएर थप गरिएको एक बर्षको समयमा पार्टीको महाधिवेशनको मिति र कार्यतालिका प्रकाशित भैसकेपछि गरिएका विभागहरुको गठन,भातृ संगठनहरुको म्याद थप, क्रियाशील सदस्यहरुको नवीकरण तथा नयाँ सदस्यता वितरण र पार्टी समायोजनका विभिन्न विषयमा असहमति जनाउदै पार्टीका कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई १६ बूँदे ज्ञापन पत्र बुझाएका थिए ।

नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको सम्बन्धमा विवेकपूर्ण निर्णय गर्नका लागि शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

Share Now

Leave a comment.