
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका),२० कार्तिक(एजेन्सीहरु) । अमेरिकामा राष्ट्रपति निर्वाचनको सार्वजनिक भएको परिणाममा देखिएको कडा प्रतिस्पर्धाको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा होस् भनने मनशायले मतगणना प्रक्रियामा विवाद उत्पन्न भएको छ ।
केही शहरहरूमा विरोध प्रदर्शन सुरु भएका छन्। कुनै स्थानमा ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गरेर प्रदर्शन गरेका छन् भने केही स्थानमा बाइडनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव दिन प्रदर्शन गरेका छन्।
एरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा रिपब्लिकन पार्टीका समर्थकहरू जम्मा भएका छन्। उनीहरू सोशल मिडियामा त्यहाँ ट्रम्पलाई परेका मतहरू नगनिएको भन्ने दाबीमा विश्वास गरेर जम्मा भएका हुन्। प्रहरी बोलाइए पनि गणना भने रोकिएको छैन।
ओरेगनको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि न्याश्नल गार्डलाई बोलाइएको छ। केही प्रदर्शनकारीहरूले तोडफोड गरेपछि प्रहरी बोलाइएको हो।
मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका २ सय प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ। उनीहरू ट्र्म्पविरोधी रहेको बताइएको छ।
न्यूयोर्क, फिलाडेल्फिया र शिकागोमा पनि यस्तै खाले प्रदर्शनहरू भएका छन्।
डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन्।
नेभाडामा पनि बिहान पत्रकार सम्मेलनको क्रममा एक प्रदर्शनकारी क्यामराको अगाडि आएर बाइडनले निर्वाचनमा धाँधली गरेको र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए।
अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम घोषणा भैसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए
अहिलेसम्मको अवस्थामा डेमोक्र्याट उम्मेदवार जो बाइडनले अग्रता लिनुभएको छ तर स्पष्ट रूपमा कसले जित्छ भन्ने भन्नसक्ने अवस्था छैन ।
अन्तिम परिणाम ‘ब्याटलग्राउन्ड स्टेट’ भनिने एरिजोना, जोर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन् । अहिलेसम्म टेक्सस, ओहायो र फ्लोरिडासहित २३ वटा राज्यमा ट्रम्पले जित्ने देखिएको छ। ती राज्यमा मतसर्वेक्षणले देखाएभन्दा राष्ट्रपति ट्रम्पले राम्रो मत ल्याउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने बताउनुभएको छ भने ट्रम्पका कार्यकर्ताहरूले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाएका छन् ।
बाइडन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई आपत्तिजनक भन्दै मतगणना रोकिनु नहुने माग गरेका छन् ।
ट्रम्पको अभियानले जोर्जिआमा पनि कानुनी चुनौती दिएपछि कुल चार राज्यमा कानुनी चुनौती परेको छ।
ट्रम्पका कानुनी चुनौती कहाँ कस्ता छन् ?
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्।
तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन्।
ट्रम्पले कुन कुन राज्यमा के आधारमा कानुनी चुनौती दिएका छन् , विस्तृतमा :
विस्कन्सिन
‘मङ्गलवार देखिएका अनियमितताहरूका आधारमा ‘ भन्दै ट्रम्पको चुनावी अभियान टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गरेको छ।
राष्ट्रपतिले विस्कन्सिन राज्यमा पुनः मतगणना गराउनका लागि औपचारिक माग गर्ने ट्रम्पको चुनावी टोलीले बताएको थियो।
त्यसका लागि ‘कतिपय विस्कन्सिन काउन्टीहरूमा भएका अनियमिताहरू’ लाई कारणका रूपमा प्रस्तुत गरिने बताइएको छ।
घोषणा हुन बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न पाउँछन्।
तर त्यस्तो मतगणनाको खर्च माग गर्ने उम्मेदवारले बेहोर्नुपर्छ।
तर त्यस्तो पुनः गणना कहिले होला भन्ने स्पष्ट छैन किनकि अधिकारीहरूले मतगणना परिणामको समीक्षा सम्पन्न नगरिकन त्यस्तो कार्य सामान्यतया सुरु हुन सक्दैन।
त्यो प्रक्रिया सम्पन्न गर्न उक्त राज्यलाई नोभेम्बर १७ सम्मको समय छ।
मिशिगन
ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ।
त्यहाँ मतपेटिका खोल्ने र गणना थाल्ने कार्यको सुरुआत गर्ने प्रक्रियाको अवलोकन गर्न आफूलाई ‘अर्थपूर्ण पहुँच’ नदिइएको उनीहरूको दाबी छ।
मिशिगनको डिट्रोइट शहरमा बुधवार दिउँसो त्यहाँको एउटा मतगणना केन्द्रको सुरक्षाका लागि प्रहरी बोलाउन परेको थियो किनकी त्यहाँ केही विरोध प्रदर्शनकारीहरूको एउटा समूहले मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए।
डिट्रोइट फ्रि प्रेस पत्रिकाका अनुसार उक्त मतगणना केन्द्रको भवनभित्र पहिले नै २०० जना पर्यवेक्षकहरूले मतगणना कार्यको अवलोकन गरिरहेका थिए।
पेन्सिल्भेनिया
ट्रम्पको चुनावी अभियान टोलीले पेन्सिल्भेनियामा पनि त्यहाँ ूअर्थपूर्ण पारदर्शिता कायम नहुन्जेलसम्मू मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ।
त्यहाँ राष्ट्रपतिले तीन अङ्कको अग्रता हासिल गरेका छन् तर अझै हजारौं मतगणना हुन बाँकी नै छ।
यहाँको मुद्दा मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको निर्णयसँग सम्बन्धित रहेको छ।
रिपब्लिकनहरूले त्यसविरुद्ध अपील गरेका छन्।
जोर्जिआ
राष्ट्रपति ट्रम्पले जोर्जिआमा पनि मतगणना रोक्न कानुनी चुनौती दिंदै हुनुहुन्छ।
उनको चुनावी खेमाका अनुसार त्यहाँको च्याटम काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदात गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेका थिए।
ट्रम्पले सन् २०१६ को निर्वाचनमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनियामा जित हासिल गरेका थिए।
सर्वोच्च अदालतको भूमिका
बुधवार बिहान सबेरै ह्वाइट हाउसबाट बोल्दै ट्रम्पले निर्वाचनमा विजय हासिल गरेको र यो विषयलाई सर्वोच्च अदालतमा लैजान तयार रहेको घोषणा गर्नुभएको थियो।
बाइपार्टीजन पोलिसि रिसर्च सेन्टर नामक संस्थाको निर्वाचन परियोजनाका निर्देशक म्याथ्यू वील भन्छन्,’कानुनी रूपमा सञ्चालित मतगणना प्रक्रिया रोक्नका लागि देशको सर्वोच्च अदालतसँग कुनै विशेष अधिकार छैन।’
निर्वाचन
ट्रम्पको चुनावी अभियान टोलीले मतगणना परिणामविरुद्ध दिइने कानुनी चुनौतीहरूका क्रममा हुने खर्च जुटाउन दाताहरूसँग चन्दाका लागि अनुरोध गरिरहेका छन्।
रिपब्लिकन न्याश्नल कमिटिकी अध्यक्ष रोना मकड्यानिएलले भन्नुभयो , ‘यो लडाईँ समाप्त भएको छैन। हामी यसैमा छौँ।’
बाइडनको चुनावी अभियानका एकजना वरिष्ठ कानुनी सल्लाहकार बब बाउअरले कानुनी रूपमा भएको मतदानलाई अवैध तुल्याउन ट्रम्पसँग कुनै आधार नभएको बताउनुभयो ।
केही मननयोग्य कुरा
- अमेरिकामा यसपालि ६६.९ प्रतिशत मत खसेको आकलन गरिएको छ जुन १२० वर्षमा सर्वाधिक भएको बताइन्छ तर अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ ।
- राष्ट्रपतिमा निर्वाचित हुन २७० पुग्नुपर्छ। अहिलेको अवस्थामा बाइडनलाई केही सहज देखिएपनि मतपरिणाम जसको पक्षमा पनि हुनसक्छ।
- बाइडनले मिशिगनमा जित्ने प्रक्षेपण गरिएको छ। मिशिगन गत निर्वाचनमा ट्रम्पले जित्नुअघि डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो।
- जोर्जिआका अधिकारीहरूले सबै मत नगनेसम्म गणना जारी राख्ने बताएका थिए। तर नेपाली समय १० :३० मा त्यहाँ ९० हजार मत गणना हुन बाँकी थिए। सुरुदेखि अग्रता लिएका ट्रम्पको अग्रता कम हुँदै आएर २८ हजार मत भएको छ।
- नेभाडामा कडा प्रतिस्पर्धा भइरहेको छ। बाइडनले त्यहाँ ७ हजार ६ सय ४७ मतले मात्रै अग्रता लिएका छन् र त्यहाँ नेपाली समयानुसार आज बेलुकी ७ : ४५ मा मात्रै नयाँ नतिजा दिइने बताइएको छ।
- एरिजोनाले बिहानसम्म पनि नयाँ मतहरू आइरहेको बताएको छ र त्यहाँको प्रक्षेपण कहिले हुन्छ भन्ने स्पष्ट छैन।
- बाइडनले २० हजार ५ सय १० मतले अग्रता लिएको विस्कन्सिनको प्रक्षेपण बीबीसीको साझेदार संस्था रोयटर्सले गरेको छैन।
- पेन्सिल्भेनियामा ट्रम्पको अग्रता रहेपनि दूरी कम भएको छ। ९० प्रतिशत मत गणना भइसक्दा ट्रम्प १ लाख ६४ हजार ४ सय १४ मतले अगाडि छन्। बुधवार एउटा समय ट्रम्पको लगभग ३ लाख ८० हजार मतको अग्रता थियो।
- नोर्थ क्यारोलाइनामा ९६ प्रतिशत मतगणना हुँदा ट्रम्पले ७६ हजार ७ सय ३७ मतले अग्रता लिएका लिनुभएको छ ।
विदेशी चलखेल छैन
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा रुसी चलखेल भएको आरोप लागेर लामोसमय सम्म अनुसन्धान भए पनि यसपटक अमेरिकी राष्ट्रपतीय मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारी क्रिस्टोफर क्रेब्सले बताउनुभएको छ।
क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाणु नरहेको बताउनुभएको हो।
अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए।
‘हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहने छौँ’,क्रेब्सले भन्नुभएको छ।