Prakash Adhikari November 5, 2020

ब्युनर्स आयर्स(अर्जेन्टिना), २० कार्तिक । अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको छ ।

मस्तिष्कमा जमेको रगत शल्यक्रियाको माध्यमबाट हटाइएको उहाँका चिकित्सकले बताउनुभएको छ । पूर्व विश्वकप विजेता ६० वर्षीय म्याराडोनालाई अघिल्लो दिन अस्पताल भर्ना गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेपछि त्यहाँ रगत जम्मा हुने गर्छ र यसले मस्तिष्कमा दबाब दिने गर्छ ।

म्याराडोनाका निजी चिकित्सक तथा न्युरो सर्जन लियोपोल्डो लुकले भन्नुभएको छ, ‘मैले म्याराडोनाको सफल शल्यक्रिया गरेको छु र यो काम सफलतापूर्वक सम्पन्न भएको छ ।’

उहाँलाई भर्ना गरिएको अस्पतालबाहिर समर्थकको बाक्लो उपस्थिति थियो । चिकित्सकले थप्नुभयो, ‘अहिले म्याराडोना कडा निगरानीमा छन्, तर सबै स्थिति नियन्त्रणमै छ । यो जटिल शल्यक्रिया होइन, तर यो ठूलै हुने गर्छ ।’

उहाँले शल्यक्रिया ९० मिनेट चलेको पनि बताउनुभयो । म्याराडोनाको खराब स्वास्थ्य स्थितिका कारण यो शल्यक्रिया र उनले अवस्था गम्भीर मानिएको हो । म्याराडोनालाई ला प्लाटा अस्पतालमा सोमबार भर्ना गरिएको थियो । पछि शल्यक्रिया आवश्यक परेपछि उनलाई ब्युनर्स आयर्सको ओलिभोस क्लिनिक सारिएको हो ।

अस्पतालबाहिर म्याराडोनाको समर्थनमा प्रशंसकले नारा पनि लगाएका थिए । सन् १९८६ मा अर्जेन्टिनाका लागि विश्वकप जितेका म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । अहिले उहाँ जिमनसिया क्लबका प्रशिक्षक समेत हुनुहुन्छ ।

शुक्रबार मात्रै आफ्नो ६०औं जन्मदिनका अवसरमा म्याराडोना सार्वजनिक रूपमा देखा पर्नुभएको थियो । त्यसअगाडि जिमनसियाको इसग्रिमाविरुद्ध लिगमा खेल रहेको थियो ।

Share Now

Leave a comment.