
शितलनिवास(काठमाडौं), २० कार्तिक । नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार अपरान्ह राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
उक्त सुशोभन समारोहमा राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
उक्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।
भारतीय सेनाध्यक्ष जंगी अड्डाका कार्यक्रममा सरिक
नेपालका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति २०७७ कार्तिक १९ गते तीनदिने नेपाल भ्रमणमा आउनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे बिहिबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको थियो ।
आज बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गर्नु भएको थियो ।
उक्त अवसरमा उहाँले जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोप्नु भएको थियो ।
आजै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो ।
उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्धिपक्षीय छलफल भएको थियो ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल भारत सुरक्षा मामिलामा द्धिपक्षीय परामर्श बैठकको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा नेपाली सेनाका तर्फबाट महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभएको थियो ।
बिहिबार साँझ नेपाली सेनाको समेत मानार्थ महारथी रहनुभएका भारतीय स्थलसेनाका सेनापति जनरल नरवणेको सम्मानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रात्रिभोजको आयोजना गर्नुभएको छ ।
विना नरवणे र दीपा थापा बीच भेटवार्ता
बिहिबार नै भारतीय स्थल सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणे साथै नेपाल भ्रमणमा रहनुभएकी, भारतीय सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती विना नरवणे र नेपाली सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती दीपा थापाबीच शिष्टाचार र कुराकानी भएको छ ।
सैनिक हेडक्वार्टरस्थित संघको कार्यालयमा भएको उक्त भेटघाटका अवसरमा श्रीमती नरवणेले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसँग अन्तर्क्रिया समेत गर्नु भएको थियो ।