
काठमाडौं, २० कार्तिक । विगत २४ घण्टामा नेपालमा थप ३ हजार५१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ भने कोरोना भाइरसको संक्रमण समेतको कारणबाट थप १८ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार अपरान्ह अगाडिको २४ घण्टामा १३ हजार ६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
यस अवधिमा पनि परीक्षण भएका नमूनामा काठमाडौ उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
सो अवधिमा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोभिड १९ पुष्टि भएको हो।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १लाख ८५ हजार ९ सय नाघेको छ।
तीमध्ये ७९.८ प्रतिशत अर्थात् १ लाख ४८ हजार ४ सय ८ जना निको भइसकेका छन्।
कोभिड१९ सँग सम्बन्धित कारणले १ हजार ५२ जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा ३ हजार ४ सय ३० जना निको भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि ३६ हजार ५ सय १४ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन्।
बुधवार ३ हजार ३ सय ९ सङ्क्रमित फेला परेका र ३० जनाको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।
सङ्क्रमित कहाँका ?
अहिले विभिन्न जिल्लामा थपिएका सङ्क्रमितमध्ये १ हजार २ सय ९ जना महिला र १ हजार ८ सय ४२ जना पुरुष छन्।
काठमाडौंमा १ हजार ९१ जना, पाल्पामा ३ सय १८, ललितपुरमा १ सय ६०, भक्तपुरमा १ सय ४७, रूपन्देहीमा १ सय ४२, कास्कीमा १ सय २३, मोरङमा १ सय २१, झापामा १ सय १०, सुनसरीमा १ सय ३ र चितवनमा ९९ जनामा सङ्क्रमण पुष्टि भएको विवरण मन्त्रालयले दिएको छ।
उपत्यकामा थपिएका सङ्क्रमित मध्ये ६ सय १ जना महिला र बाँकी पुरुष हुन्।
अहिले काठमाडौं १६ हजार ३ सय ३१ जनासहित उपत्यकामा १९ हजार ८ सय ५५ जनामा सक्रिय सङ्क्रमण छ जुन कुल सक्रिय सङ्क्रमितको ५४ प्रतिशत हो।
मन्त्रालयका अनुसार उपत्यकामा १५ हजार जनासहित देशभरि २९ हजार ५ सय ७४ सङ्क्रमित घरमै एकान्तवासमा छन्।
अस्पताल भर्ना भएका सङ्क्रमितमध्ये अहिले ४ सय २८ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेटरमा भएको सरकारी तथ्याङ्कमा देखिन्छ।