Prakash Adhikari November 6, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २१ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करणको पहिलो क्वालिफायर खेलमा गत सिजनको विजेता मुम्बई इण्डियनले दिल्ली क्यापिटललाई पराजित गर्दै फाइनल पुगेको छ ।

दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई मुम्बईले ५७ रनले पराजित गरेको हो।

दिल्लीको फितलो प्रदर्शन

दुबाई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गर्दै मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो।

दिल्लीको लागि मार्कस स्टोइनिसले ६५, अक्षर पटेलले, ४२ कागिसो रबाडाले १५, कप्तान श्रेयस ऐयरले १२, रिशभ पन्तले ३ रन बनाए। पृथ्वी शँ, शिखर धवन, अजिंके रहाने र ड्यानियल श्यामस्ले खाता खोल्न सकेनन्।

दिल्लीलाई रोक्ने क्रममा मुम्बईका ट्रेन्ट बोल्टले २ विकेट लिए भने काइरन पोलार्ड र क्रुनाल पान्ड्याले समान १ ।१ विकेट लिए।

https://twitter.com/i/status/1324388007344971777

मुम्बईको ब्याटिड.

टस हारेर सुरुमा ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन जोडेको थियो।

मुम्बईको लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए भने सूर्यकुमार यादवले ५१ रन बनाए। यस्तै क्विन्टन डी ककले ४० रन बनाउदा हार्दिक पान्ड्याले अविजित ३७ रन बनाए भने क्रुनाल पान्ड्याले १३ रन बनाए ।

मुम्बईको आँधीलाई रोक्न दिल्लीको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए भने एनरिक नोर्किया र मार्कस स्टोइनिसले समान १ । १ विकेट लिए।

आईपीएलको १३ बर्षे इतिहासमा मुम्बई फाइनल पुगेको यो छैठौं पटक हो। यस अघि २०१०, २०१३, २०१५, १०१७ र २०१९ मा मुम्बई फाइनल पुगेको थियो जस मध्ये २०१३, २०१५, २०१७ र २०१९ गरि ४ पटक उपाधि जित्न सफल रहेको थियो। मुम्बई भन्दाबढी चेन्नाई ७ पटक आईपीएलको फाइनल पुगेको छ भने ३ पटक उपाधि जितेको छ ।

दिल्लीलाई घुमाउरो बाटो

हारपछि पनि दिल्लीले फाइनल पुग्नको लागि दोश्रो अवसर पाउनेछ। शुक्रबार हुने हैदरावाद र बैंगलोरबीचको इलिमिनेटरको विजेतासंग आइतबार दिल्लीले दोश्रो क्वालिफायरमा फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्न पाउछ।

गत सिजन दिल्ली दोश्रो क्वालिफायरमा चेन्नाईसंग पराजित भएको थियो।

आईपीएल २०२० अन्तर्गत शुक्रबार इलिमिनेटर खेल हुनेछ जसमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।

दोश्रो क्वालिफायर नोभेम्बर ८ तथा फाइनल खेल नोभेम्बर १० मा दुबाईमा खेलिने निर्धारित समय तालिका रहेको छ।

Image

सन्दीपलाई दिल्लीबाट धोका

बार्षिक २० लाख भारतीय रुपैया दिने गरी ३ बर्षका लागि नेपाली खेलाडी सन्दीप लामिछानेलाई अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले यसपटक लिग चरणका १४ खेल र पहिलो क्वालिफायरमा पनि उनलाई मैदानमा उत्रन दिएन । सन्दीपको खेल उनले ३ बर्ष पहिले दिल्लीसंग अनुबन्धित भएको बेलामा भन्दा निकै सुधारिएको छ ।

Image

सिंगो संसार कोरोना भाइरसको महामारीले आक्रान्त भएर अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुको खडेरी लागेको समयमा पनि उनले सीपीएल २०२० मा मौका पाए र राम्रो प्रदर्शन गरी ट्रिनिडाड एण्ड टोवाकोबाट सीधै आईपीएल खेल्न दुबाई आएका थिए । तर दिल्लीले उनीप्रति के को प्रतिशोध लियो ? मैदानमा प्रवेश गरेर बलसम्म छुने मौका पनि दिएन । पारिश्रमिकलाईभन्दा खेललाई प्राथमिकता दिएका सन्दीपमाथिको अन्याय नेपाली क्रिकेटप्रेमीका लागि खट्किएको छ ।

Share Now

Leave a comment.