वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २१ कार्तिक(एजेन्सी) । संयुक्त राज्य अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी पूर्व उपराष्ट्रपति जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएको छ।
ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गर्नुभयो।
‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उहाँले भन्नुभयो, तर ‘प्रक्रियाले काम गरिरहेको छ।’
प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै जितको नजिक पुग्नुभएका बाइडनले भन्नुभयो, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।’

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई ‘कुनै शङ्का नरहेको’ पनि बाइडनले बताउनुभयो।
त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा ‘धाँधली’ गरिएको आरोप फेरि लगाउनुभयो।
मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलो पटक वर्तमान राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।’
हुलाकमार्फत् गरिएको मतदान ‘एकतर्फी’ भएको दाबी पनि उहाँले गर्नुभएको छ।

मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले ‘चुनावी हस्तक्षेप’को सङ्ज्ञा दिनुभयो।
यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनुभएको थियो।
राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर ‘पूर्ण युद्धमा जान’ आफ्ना बुवालाई आग्रह गर्नुभएको छ।
राष्ट्रपति ट्रम्प पुत्रको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ।
जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लग्नुभएको छ।
निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा राष्ट्रपति ट्रम्पको अग्रता साँघुरिँदै गएको छ।
हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाइडनले २ सय ६४ निर्वाचक मत पाउनुभएको छ भने राष्ट्रपति ट्रम्पले २ सय १४ निर्वाचक मत प्राप्त गर्नुभएको छ ।
रणसंग्राम मानिएका राज्य मध्ये तीन राज्यको अवस्था यस्तो छ :




















