Prakash Adhikari November 6, 2020

काठमाडौं, २१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएको छ।

बैठक शुक्रबार ३ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बराहीमा बोलाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको जानकारी दिनुभएको छ।

‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छ,’ श्रेष्ठले बताउनुभयो।

पार्टीको स्थायी समिति र केन्द्रीय समितिले पनि कार्यकारी अध्यक्षको रुपमा उहाँलाई अनुमोदन गरेपछि पनि लामो समयसम्म सो अधिकारको उपयोग नगर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले पहिलो पटक एकल निर्णयका आधारमा सचिवालय बैठक बोलाउनुभएको बताइएको छ । उहाँले बैठक बोलाउनु पहिले औपचारिकताका लागि अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग टेलिफोन सम्पर्क गर्नुभएको थियो तर बैठक बोलाउने विषयमा सहमति भने भएको थिएन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय र स्थायी समितिका बैठक पनि नबोलाउने र बिगतमा भएका बैठकको निर्णय पनि नमान्ने भनेर चुनौती दिनुभएको बेला कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकमा कति सदस्यको उपस्थिति रहन्छ र त्यसले कस्तो एजेण्डामा छलफल गरी निर्णय लिन्छ ? त्यो धेरैको चासोको विषय भएको छ ।

प्रधानमन्त्री निकट स्रोतले भने प्रधानमन्त्री ओली सहमति बेगर बोलाइएको बैठकमा नजाने हुनुभएको बताएको छ ।

Share Now

Leave a comment.