Prakash Adhikari November 10, 2020

 

नेपिडो (म्यानमार), २५ कार्तिक (एजेन्सी) । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी)ले हालै सम्पन्न आम निर्वाचनमा बहुमत हासिल गरेको छ ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वमा रहेको एनएलडीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । केन्द्रीय निर्वाचन आयोगले मंगलबार एनएलडीले पार्टीले बहुमत प्राप्त गरेको घोषणा गरेको छ ।

निर्वाचनमा कुल ५ हजार ६ सय ३९ जना उम्मेदबारमध्ये सूचीको सत्तारुढ दलको तर्फबाट १ हजार १ सय ६ जना उम्मेदबार रहेका छन् । म्यानमारका १ हजार १ सय १७ संसद सदस्यका लागि निर्वाचन भएको हो ।

मंगलबार विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो ।

म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो ।

सन् २०१५ मा भएको निर्वाचनमा पनि सूचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार संचालन गर्दै आएको थियो । अहिलेको निर्वाचनमा विपक्षीहरुको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुचीकै पार्टीले जित्ने पुर्वानुमान गरिएको थियो ।

सुचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उहाँ म्यानमारमा लोकप्रिय हुनुहुन्छ ।
उहाँले स्टेट काउन्सिलरका रुपमा सरकार संचालन गर्नुभएको छ ।

सुचीको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।

 

Share Now

Leave a comment.