काठमाडौं, २७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाउनुभएको छ ।
उहाँले पार्टीको अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी. शर्मा र कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमलसंगको परामर्शपछि शुक्रबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाउनुभएको हो ।
नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीका केन्द्रीय सचिवालयको बैठक भोलि अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ ।
— Bishnu Rijal (@bishnurijal1) November 12, 2020
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुको केही दिन पहिले बसेको बैठकले प्रधानमन्त्री ओलीलाई २७ गतेभित्र सचिवालयको औपचारिक बैठक बोलाउन अल्टिमेटम दिनुभएको थियो ।
सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्धया झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
सरकारमा भएको कारण प्रधानमन्त्री के.पी. ओलीको सहमति नरहेको सो बैठकमा महासचिव तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल अनुपस्थित रहनुभएको थियो ।


















