
सल्लेरी (सोलखुम्बु), १२ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ।
यसअघि खुम्बु क्षेत्रमा पुग्न महँगो हवाई यात्रा र कष्टकर पैदल यात्राबाहेक अर्को विकल्प थिएन। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र माप्य दूधकोशी गाउँपालिकाको सीमामा पर्ने दूधकोशीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडक सञ्जालसँग जोडिएको हो।
सडक सञ्जालले खुम्बुलाई सोलुसँग जोडेपछि खुसी देखिएका माप्य दुधकोशी–२ का रामबहादुर राईले विगत सम्झिँदै भन्नुभयो, ‘उहिले यो खोला(दूधकोशी)बाबियोको डोरीमा झुण्डेर पो तर्नु पर्थ्यो त।’
खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएसँगै विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको बताउनुभयो ।
‘खुम्बु क्षेत्र आउन लुक्ला, फाप्लुसम्म महँगो भाडा तिरेर जहाज चढ्नुपर्थ्यो। हवाई यात्रा सम्भव नभएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदल यात्रा पर्थ्यो। तर, अब भने गाडी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन्।’ गाँउपालिका अध्यक्ष शेर्पाले भन्नुभयो । खुम्बु क्षेत्रमा बर्सेनि ४० देखि ५० हजार पर्यटक भ्रमण गर्छन्।
दूधकोशी नदीमा पुल संचालन भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिका–१ थामडाँडासम्म सवारी साधन पुग्न थालेका छन्। यही वर्षभित्र खुम्बुको चौरीखर्कसम्म गाडीमार्फत आवतजावत गर्न सकिने अध्यक्ष शेर्पा बताउनुहुन्छ।
खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि खुम्बु क्षेत्रमा दैनिक उपभोग्य सामाग्री र पर्यटकलाई लाग्ने भ्रमण खर्च पनि सस्तो हुने बताउनुहुन्छ स्थानीय आङफुर्वा शेर्पा। उहाँले थप्नुभयो, ‘रोड नहुँदा खाद्यान्न, नुन, तेलजस्ता सप्पै चिज हेलिकप्टर र प्लेनबाट ओसार्दा महँगो हुन्थ्यो। गाडीले ढुवानी गरेपछि त अब सस्तो हुन्छ।’
हवाई र पैदल यात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसँग जोडिएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने विश्वास स्थानीय गोम्बु शेर्पा(कज्र्याङ)ले व्यक्त गर्नुृभयो।
यसअघि सडक सञ्जाल नहुँदा लुक्ला र स्याङ्बोचे विमानस्थलको मौसम खराब हुँदा। हिउँ पर्दा हप्तौंसम्म पर्यटकहरु फर्किन सक्दैन थिए। खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि मौसम सफा हुने प्रतीक्षा गरेर पर्यटकले लामो समय कुर्नुपर्ने समयको अन्त भएको छ।
‘मौसम सफा हुने समय कुर्दा कुर्दा कतिको भिसाको म्याद सकिन्थ्यो। कतिको खर्च सकिन्थ्यो। अब त मौसम सफा भएन भने पनि गाडीबाट सर्रर आउजाउ गर्न सकिन्छ,’ स्थानीय गोम्बु शेर्पाले भन्नुभयो।
सडक मार्ग हुँदै काठमाडौंबाट बीपी राजमार्गबाट ओखलढुंगा, सल्लेरी हुँदै दूधकोशी किनार पुग्न सकिन्छ। सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ३८ किलोमिटर सडक यात्रा पार गरेपछि ओर्लाङघाट पुगिन्छ। आर्लाङघाटबाट २५ किलोमिटर सडक पार गरेपछि थामडाँडा पुग्न सकिन्छ। थामडाँडाबाट ५ घण्टाको पैदल यात्रा तय गरेपछि लुक्ला पुग्न सकिन्छ।
सडक सञ्जालले खुम्बु क्षेत्र मात्र नभई सोलुका सेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलीढुंगा, ओर्लाङघाट अँधेरी, जुभिङ, खरीखोला, बुप्सालगायत एक दर्जन बस्तीलाई पनि सडक सञ्जालसँग जोडेकोले जिल्लाबासीहरु अत्यन्तै खुसी भएको माप्य दूधकोशीका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।
७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको पुलका लागि सांसद विकास कोषबाट १ करोड, प्रदेश सरकारबाट २ करोड र बाँकी बजेट माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए।