Prakash Adhikari November 27, 2020

मुम्बई(भारत), १२ मंसिर । मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनावतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाले गरेको कारबाही र दिएको आदेश रद्द गरिदिएको छ ।

अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई पुर्याईएको क्षतिको मूल्यांकन गरी भराउन मूल्यांकनकर्ता तोकिने पनि जनाएको छ ।

अदालतले अभिनेत्री कंगनाले मुम्बई महानगरका सुरक्षाकर्मीको उपस्थितिमा आफ्नो निवासको केही भाग पूर्वाग्रहपूर्वक भत्काइएकोले महानगरकै अनुमति लिएर बनाएको निवास भत्काउने कार्य रोक्न र पूर्वाग्रहपूर्वक भत्काइएको भवनको क्षतिपूर्ति दिलाई पाउनको लागि मुम्बई उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

बृहत्तर मुम्बई मेट्रोपोलिकन कर्पोरेशन(बीएमसी)ले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक खण्ड भत्काइदिएको थियो ।

निर्णय सुनाउँदै दुई न्यायाधीशको सयुक्त इजलाशले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् ।

बेञ्चले बीएमसीले गरेको कारवाही अनाधिकृत भएकोमा कुनै पनि शंका नभएको बताएको छ ।

कंगनाले आफ्नो बंगलामा पुर्याएको क्षति वापत बिएमसीसँग २ करोड भारुको क्षतिपूर्ति पनि माग्नुभएको थियो । अदालतले यसबारे मूल्यांकन गर्न भ्यालुएटर नियुक्त गर्ने र २०२१ को मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ ।

बीएमसीले कंगना रनावतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उहाँ अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार दवाव दिदै मुम्बईका फिल्मी सिण्डिकेट बिरुद्ध एक्लो लडाई लडिरहनुभएको थियो ।

यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो ।

अदालतले बीएमसीको कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो ।

Share Now

Leave a comment.