
काठमाडौं, १२ मंसिर । दुई दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँग नेपाली उच्च नेतृत्वले गरेका भेटघाट र छलफलले केही अघिदेखि चिसिएको नेपाल-भारत सम्बन्धलाई ‘पुरानै लय’मा फर्कने दावी नेपाली अधिकारीहरूले गरेका छन्।
कतिपय अधिकारीहरूका भनाइमा श्रृंगलाको भ्रमण ‘निकै उपलब्धिमूलक देखिएको’ छ।
भारतीय विदेश सचिव श्रृंगलाले पनि नेपालमा भएका भेटघाटहरू र आफ्ना समकक्षीसँगको कुराकानी उपलब्धिमूलक भएको धारणा व्यक्त गर्नुभएको छ।
FS @harshvshringla called on Rt. Hon. President @PresidentofNP, conveyed greetings on behalf of Hon. President of India Shri Ram Nath Kovind and discussed ways to strengthen #IndiaNepalFriendship. @MEAIndia @PMOIndia pic.twitter.com/2QkrNwnsQc
— IndiaInNepal (@IndiaInNepal) November 27, 2020
नेपाल-भारत सम्बन्धमा केही अघिदेखि चिसोपन बढिरहेकामा त्यसलाई साम्य पार्ने हिसाबले भारतीय पक्षबाट भइरहेका भ्रमणहरूको श्रृङ्खलामा पछिल्लो पटक भारतीय विदेश सचिवले गरेको दुईदिने भ्रमणलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।
कतिपयले उनी स्वदेश फर्किनेबित्तिकै चीनबाट हुन लागेको एउटा उच्चस्तरीय भ्रमणसँग जोडेर पनि यसलाई हेरेका छन्।
भ्रमणको सन्देश
दुईदिने नेपाल भ्रमणका क्रममा बिहीवार काठमाण्डू आइपुगेका भारतीय विदेश सचिव श्रृङ्गला विमानस्थलदेखि नै नेपाल र नेपालीप्रति आफ्ना पूर्ववर्तीहरूको भन्दा बढ्तै आत्मियता रहेको झल्को दिने गरि प्रस्तुत भएको कतिपयको बुझाइ छ।
उनीहरूका बुझाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली भाषामै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफ्नो भ्रमण ‘नेपाल र भारतबीचको गहिरो मित्रतालाई थप मजबुत पार्नका निम्ति भएको’ उहाँले सन्देश दिन खोज्नुभएको थियो।
उहाँले नेपाली समकक्षीसँगको वार्तापछि पनि नेपाली भाषामै सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभयो।
परराष्ट्र सचिव भरतराज पौड्यालसँगको द्विपक्षीय छलफलपछि उहाँले सञ्चारमाध्यमलाई भन्नुभएको थियो, ‘धेरै राम्रो भयो। एकदमै प्रोडक्टिभ मिटिङहरू भयो।’
उहाँले उक्त छलफललाई ‘उपलब्धिपूर्ण’ भनेर अर्थ्याउनुभयो।
शुक्रवार राजधानी काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उहाँले नेपाल र भारत घनिष्ठ र विशेष सम्बन्ध भएका मित्र भएको दोहोर्याउनुभयो।
श्रृंगलाले उक्त कार्यक्रममा पनि नेपाल र भारतको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
विवाद र भ्रमण
नेपालले आफ्नो भन्ने दाबी गर्दै आएको भू-भागबाट सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपाल र भारतबीच नक्सा विवाद चर्केको थियो।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि दुई देशको सम्बन्ध थप चिसियो।
तर हालै भारतीय पक्षबाट भएका उच्चस्तरीय भ्रमणहरूले भारतले नेपालसँगको सम्बन्धलाई पुरानै लयमा फर्काउन खोजेको जस्तो देखिएको कूटनीतिज्ञहरूले बताउने गरेका छन्।
श्रृंगला सहभागी कार्यक्रममै उहाँलाई स्वागत गर्दै नेपालका पूर्व परराष्ट्र सचिव मदन भट्टराईले विदेश सचिव भएपछि भएको उहाँको पहिलो नेपाल भ्रमणले नेपाल र भारतको ‘युगौँ देखिको सम्बन्ध’लाई जन आकाङ्क्षा अनुसार आपसी हितका आधारमा प्रवर्द्धन गर्न मद्दत गर्न विश्वास व्यक्त गर्नुभयो।
केही अघि मात्र भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयल र त्यहाँका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो।
यद्यपि भारतीय गुप्तचर निकाय प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेटवार्ता भने स्वदेशमै विवादमा परेको थियो।
नेपालको अपेक्षा
दुईदिने भ्रमणमा नेपाल आएका श्रृङ्गलाले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि शिष्टाचार भेटघाट गनुृभएको थियो।
प्रधानमन्त्रीसँगको भेटघाटमा उहाँले सकारात्मक ढङ्गले नेपाल-भारत सम्बन्धलाई अघि बढाउने कुरा बताएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताउनुभयो।
भट्टराईका अनुसार विदेश सचिवस्तरमा भएको भ्रमण र दुईदेशका समकक्षीबीच भएको वार्ताले ‘सकारात्मक वातावरण उत्पन्न गरेको’ छ।
त्यसले गर्दा आगामी दिनमा अब उच्च नेतृत्वबाट भ्रमणहरू हुनसक्ने सम्भावना बढेको भट्टराईको मत छ।
नेपाल-भारत
पूर्व सचिव भट्टराईले भन्नुभयो, ‘अब हामीले एउटा अपेक्षा गर्न सकिन्छ कि यो भन्दा माथिल्लो स्तरका भ्रमणहरू भोलिका दिनमा हुनसक्छन् भन्ने अपेक्षा राख्न सक्छौँ। त्यो एउटा सामान्य प्रक्रिया पनि हो।’
‘हामी सम्बन्धलाई उच्चस्तरीय भ्रमणका माध्यमबाट अघि बढाउन चाहन्छौ’ भन्ने मान्यतामा भारतीय पक्ष रहेको पाइएको पनि उहाँले बताउनुभयो ।(बीबीसीबाट)