
काठमाडौं, १९ मंसिर (रासस) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।
उहाँलेआफू कोरोनाबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
Thank You Everyone.🙏 pic.twitter.com/81E8alfX8s
— Sandeep Lamichhane (@Sandeep25) December 2, 2020
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।
पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै सेल्फ आइसोलेशनमा बस्नुभएका सन्दीपलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
उहाँले आफ्नो स्वास्थ्यप्रति चासो राख्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिंदै आफू फर्केको र अब छिट्टै खेल मैदानमा फर्किने बताउनुभएको छ ।
हालै सम्पन्न इण्डियन प्रिमियर लिगमा टिममा चयन भएर पनि टिमले खेलेका १७ वटा खेलमा मैदानमा उत्रिन नपाउनुभएका लामिछानेले कोरोना मुक्त भएपछि निकै प्रशन्नता प्रकट गर्दै भन्नुभएको छ,’ म प्रतीक्षा गर्न सक्दिन । म मैदानमा उफ्रिन चाहान्छु र आफ्नो टिमलाई आफ्नो उत्कृष्ट प्रतिभा देखाउन चाहान्छु । म फर्केको छु । साच्चै फर्केको छु ।’
केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाँदै हुनुहुन्छ ।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ ।