Prakash Adhikari December 4, 2020

 

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले यही मंसिर २९ गते देशभरका जिलला सदरमुकामहरुमा सर्वसत्तावादी कम्युनिष्ट सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासस्थान बुढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा प्रतिपक्षीविरुद्धको दमन, देशव्यापी भ्रष्टाचार र कोरोना संक्रमण नियन्त्रणमा असफल रहेकोले त्यसको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

बैठकपछि उहाँले जारी गर्नुभएको विज्ञप्तिमा तनहुँ जिल्लामा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको उल्लेख छ ।

शुक्रबार बसेको वर्तमान तथा पूर्व पदाधिकारीहरुको बैठकले जनताका जनजीविका र राज्य सञ्चालनमा देखिएका कमी कमजोरीका बारेमा छलफल गर्न संघीय संसदको बैठक अत्यावश्यक भएकोले भन्दै सरकार र सभामुखसंग त्यस्तो बैठक अविलम्ब बोलाउन माग गर्ने निर्णय पनि गरेको छ ।

Share Now

Leave a comment.