Prakash Adhikari December 5, 2020

 

वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), २० मंसिर । अघिल्लो बर्षको डिसेम्बर महिनामा चीनको उहानमा कोरोना भाइरसको संक्रमण देखिएको चिकित्सकहरुले बताएका थिए।

तर अमेरिकाका भएको नयाँ अनुसन्धानमा भने चिनमा यो भाइरस देखिएको सार्वजनिक जानकारी आउनुभन्दा केही हप्ता पहिले नै अमेरिकामा पनि यसले मानिसलाई संक्रमण गरिसकेको पत्ता लागेको छ ।

यस सम्बन्धमा अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का वैज्ञानिकहरुले गरेका अनुसन्धानको नतिजा हालै क्लिनिकल इन्फेक्सियस डिजिज नामको पत्रिकामा प्रकाशित भएको छ।

सन् २०१९ डिसेम्बर ३१ मा चिनिया वैज्ञानिकले आधिकारिक रूपमा कोरोना भाइरसको जानकारी दिएका थिए । चीनको हुवेई प्रान्तका स्वास्थ्य अधिकारीले उहानमा निमोनियाँका जस्ता गम्भीर लक्षण भएको र श्वाससँग सम्बन्धित अनौठो रोग देखियो भनेर चेतावनी जारी गरेका थिए ।

तर महामारी सुरु भएको ११ महिनापछि अमेरिकाका वैज्ञानिक भन्छन् स् अमेरिकाका तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइयो। जुन चीनका स्वास्थ्य अधिकारीले कोरोनाबारे चेतावनी जारी गर्नुभन्दा २ हप्ताअघि नै उनीहरूको शरीरमा विकास भइसकेको थियो।

अमेरिकामा भने कोरोना भाइरस संक्रमणको पहिलो घटना २०२० जनवरी २१ मा दर्ता भएको थियो।

अनुसन्धान नतिजा

यस अनुसन्धानअनुसार अमेरिकामा २०१९ डिसेम्बर १३ देखि २०२० जनवरी १७ सम्म गरिएको रक्तदान कार्यक्रममा ७ हजार ३ सय ८९ जनाले रगत दिएका दिए। तीमध्ये १ सय ६ जनाको रगतको नमुनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

कुनै व्यक्तिको शरीरमा एन्टिबडी पाइनुको अर्थ हो, ऊ पहिले कोरोनाबाट संक्रमित भएको थियो र त्यसविरुद्ध उसको शरीरले रोग प्रतिरोधात्मक शक्ति विकास गरिसक्यो।

अनुसन्धानकर्ताका अनुसार अमेरिककाका क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा गत डिसेम्बर १३ देखि १६ सम्म (चीनको उहानमा कोरोना संक्रमण पत्ता लाग्नु डिसेम्बर ३१ अघि) लिइएको रगतको नमूनामध्ये ३९ जनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

शोधकर्ताका अनुसार बाँकी ६७ रगतको नमूना जनवरी महिनामा मासेच्युसेट्स, मिसिगन, रोड आइल्यान्ड र विस्किन्सिनमा संकलन गरिएको थियो। यो कुरा यी राज्यमा कोरोना महामारी फैलिनुभन्दा केही पहिलेको हो।

अमेरिकी अनुसन्धानकर्ताका अनुसार अमेरिकामा ठूलो मात्रामा कोरोना महामारी फैलिन सुरु भएको चाहिँ फेब्रुअरीको अन्तिम हप्तादेखि हो।

यसले कोरोना भाइरसको उत्पत्तिका विषयमा अहिलेसम्म चीनमाथि थोपरिदै आएको आरोपबाट उसलाई मुक्त गर्न सजिलो भएको छ र दोषमुक्त राख्न भने थप अनुसन्धान आवश्यक हुन सक्छ ।

आखिर कोरोना भाइरसको सुरुवात कहाँबाट भयो त ?

उसो भए कोरोना भाइरस विश्वमा सबैभन्दा पहिले कहाँ देखापरेको हो त ? सायद यसको उत्तर दिन कहिले सम्भव हुने छैन । यस्ता संकेत पाइएका छन् कि चीनको उहानमा सन् २०१९ डिसेम्बरमा देखापर्नुभन्दा धेरै हप्ताअघि नै विश्वमा यो भाइरस थियो।

सीडीसीका वैज्ञानिकले के निश्चित गर्न सक्दैनन् भने ती संक्रमित मानिस अमेरिकामै संक्रमित भएका थिए कि यात्राका क्रममा कहींबाट संक्रमण लिएर आए ?

रक्तदान कार्यक्रमको आयोजक रेडक्रसले भनेको छ, जुन मानिसको रगतको नमूना संकलन गरिएको थियो, तीमध्ये जम्मा ३ प्रतिशत व्यक्तिले मात्र भर्खरै विदेश यात्रा गरेको बताएका थिए। अनि यीमध्ये ५ प्रतिशत व्यक्तिले एसियाली मुलुकबाट फर्किएको बताएका थिए।

 

Share Now

Leave a comment.