Prakash Adhikari December 5, 2020

भद्रपुर (झापा), २० मंसिर । झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको आयोजनामा राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा बृहत् र्‍यालीसहितको प्रदर्शन भएको छ।

राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघियता खारेजी, भ्रष्टाचार नियन्त्रण, बढ्दो महंगी, कोरोना व्यवस्थापनको असफलता लगायतका नाराहरु घन्काउदै प्रधानमन्त्रीको गृहनगरमा प्रदर्शन गरेको हो।

 

र्‍यालीपश्चात् बिर्तामोडमा आयोजित शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता राजेन्द्रप्रसाद लिङ्देनले सत्तारुढ पार्टीभित्रै नेताहरुबीच भ्रष्टाचारी र हत्याराको आरोप प्रत्यारोप चलेकोले शासनको राजसिंहासनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको वंशजका उत्तराधिकारीलाई विराजमान गराउन अपरिहार्य भैसकेको बताउनुभयो ।

उहाँले राजा आए जादुमय तरिकाले देशमा परिवर्तन नभए पनि शान्ति र स्थिरता कायम हुने र त्यसको जगमा देश अगाडि बढ्ने दावी गर्नुभयो ।

उहाँले राजतन्त्रको विसर्जनपछि नेपालमा विदेशी हस्तक्षेप बढेको बताउदै पार्टीको झगडामा विदेशी दूतहरू आएर मिलाउने परम्परा सुरु भएको उल्लेख गर्नुभयो। उहाँले सत्ता र पदको रक्षाका लागि पार्टीका नेताहरूले देश नै धरौटी राख्न सक्ने खतरा बढेको बताउनुभयो ।

उहाँले देशले थप बर्बादी थाम्न नसक्ने भन्दै लुटतन्त्र, भ्रष्टाचारसंगै देशको भविष्य माथिको खतरा आएकोले टुलुटुलु हेरेर नबस्न अपील गर्नुभएको थियो ।

काँकडभिट्टाबाट सुरु भएको मोटरसाइकल र्‍याली बिर्तामोडमा पुगेर मुक्ति चोकमा कोणसभा परिणत भएको थियो। र्‍यालीमा पूर्वमन्त्री रामकुमार सुब्बा, पूर्वमन्त्री टेक नारायण राजवंशी, नेता राम थापा, भक्ति सिटौला, राजकुमार पोखरेल, राप्रपाका झापा अध्यक्ष अमर विष्ट, युवक संगठनका केन्द्रीय उपाध्यक्ष ध्रुव उप्रेती, युवक संगठन झापाका अध्यक्ष राजकुमार राई लगायतको सहभागिता थियो।

Share Now

Leave a comment.