Prakash Adhikari December 15, 2020

 

काठमाडौं,३० मंसिर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकको सिफारिसका आधारमा ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गर्नुभएको छ ।

संवैधानिक परिषद्का पदाधिकारीहरुको बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बसेर बहुमतले निर्णय गर्ने सहज व्यवस्था सहितको प्रावधान राखेर तयार पारिएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गर्नुभएको थियो ।

तर नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताउदै त्यसको विरोध गर्नुभएको हो।

‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले भन्नुभएको छ, ‘यो बदनियतपूर्ण छ र तुरुन्त खारेज हुनुपर्छ ।’

उहाँले भन्नुभएको छ, ‘संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा, देशका सबै राजनीतिक दलले तुरुन्त संसद अधिवेशन बोलाउन पनि भनेको सन्दर्भमा पार्टीभित्र गम्भीर छलफल–बहस भइराखेको स्थितिमा पार्टीको बैठक र पार्टीलाई जानकारी पनि नदिइकन कार्यदलको मर्म र भावनालाई पनि बेवास्ता गरेर संविधानको मर्म र स्पिरिटलाई लत्याउँदै, लोकतन्त्रको उपहास गर्दै आज अध्यादेश जारी गर्नु बदनीयपूर्ण छ । यो खारेज हुनुपर्दछ ।’

Share Now

Leave a comment.