Prakash Adhikari December 16, 2020

 

काठमाडौं, १ पुस । नेपालमा लकडाउन सुरु भएसंगै बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी आज (पुस १ गते)देखि भक्तजनका लागि खुला गरिएको छ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजदेखि मन्दिर खोल्ने र भक्तजनलाई पशुपति दर्शनको व्यवस्था मिलाउने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको छ । कोषले भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाएको छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन्।

सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो।

यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए। भगवान पशुपति नाथको दर्शन सदासवर्दा उपयुक्त मानिए पनि साउनको सोमबार पशुपतिनाथको दर्शन र पूजाको विशेष महिमा छ भन्ने गरिन्छ । ती दिनमा भक्तजनहरु पशुपति क्षेत्र परिक्रमा गरेर भगवान पशुपतिनाथको दर्शन गरी आस्था प्रकट गर्दछन्।

देवाधिदेव महादेवको रुप मानिने पशुपतिनाथ मन्दिर यति यति लामो अवधि दर्शनार्थीको लागि बन्द गरिएको कतै उल्लेख छैन । कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन्।

Share Now

Leave a comment.