
काठमाडौं, ६ पौष । राज्यका संवैधानिक निकायमा आफूखुसी व्यक्तिहरु नियुक्त गर्न अध्यादेश ल्याउने र स्वेच्छाचारी ढंगले शासन गर्न संविधानमा व्यवस्था नभएको अनधिकृत अधिकारको उपयोग गरी प्रतिनिधिसभा विघटन गर्ने जस्ता प्रधानमन्त्री के.पी.शर्मा ओलीका निरंकुश शैलीलाई नियन्त्रण गर्दै देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षाको लागि आवश्यक रणनीति तयार पार्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ।
नेपाली कांग्रेसले यसबारेमा छलफल गर्न गर्न सोमबार दिउँसो ४ बजे सानेपास्थित पार्टी कार्यालयमा सर्वदलीय बैठक बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रतिनिधिसभा विघटनको लागि राष्ट्रपतिमा सिफारिस गर्र्ने निर्णय गराएर सो सिफारिस पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते आइतबार दिउँसो नै संसद् विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन हुने घोषणा गर्नुभएको थियो ।
ओली सरकारका निरंकुश शासनशैलीका विरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले संसद् भंग गरिएको दिन आइतबार पनि काठमाडौंमा विरोध सभा गरेको थियो।
आइतबारै कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली विरोधी नेता, नेपाली कांग्रेस र जनता समजावादी पार्टीका नेताहरुको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्दै सामूहिक प्रतिवाद गर्ने घोषणा गरेका थिए।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिनुभएको जानकारी अनुसार आइतबार बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध सबै प्रकारका संघर्ष गर्ने निर्णय गरेको छ ।