काठमाडौं, ६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै ८७ जना सांसदहरु आफ्नै पार्टीका प्रधानमन्त्रीको सिफारिसमा आफ्नै पार्टीले बनाएको राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा व्युताउन सर्वोच्च अदालत जाने भएका छन् ।
नेकपा केन्द्रीय सदस्य तथा विघटिन प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाक्रीले दिनुभएको जानकारी अनुसार संविधानको अक्षर र भावनाविपरित आफूमा नरहेको अधिकार प्रयोग गरी संघीय संसदको प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा गर्नुभएको सिफारिस र सोको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको घोषणा वदर गरी गैरकानुनी रुपमा विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी भैरहेको छ ।
यसको लागि नेकपा स्थायी कमिटि तथा केन्द्रीय कमिटिका सदस्य तथा विघटित प्रतिनिधिसभामा सत्तापक्षका प्रमुख सचेतक देव गुरुड.को नेतृत्वमा सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल लगायतका नेताहरुले अधिवक्ता गोबिन्द बन्दीसहितको सहयोगमा तयारी गरिरहनुभएको छ र सोमबार नै सर्वोच्चमा रिट दायर तयारी छ।








