Prakash Adhikari December 21, 2020

काठमाडौं, ६ पौष । संविधानले नदिएको र आफूमा नरहेको अनधिकृत अधिकारको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार ३ बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीले प्रत्यक्ष सम्बोधन गर्न लागेको जानकारी दिनुभएको छ।

गत बैशाख महिनामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र निरन्तर चर्को विवाद खेप्दै आउनुभएका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको सिफारिस गर्नुभएको थियो । उहाँको सिफारिस अनुसार राष्ट्रपतिले आइतबार दिउँसो प्रतिनिधिसभा विघटन गरी सिफारिस भएको मितिमा प्रतिनिधिसभाको निर्वाचत तोक्नुभएको छ ।

सरकार सञ्चालनमा पार्टीसंग आवश्यक समन्वय नगरेकोले पार्टीमा निरन्तर दवाव खेप्दै आउनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्रको प्रतिशोध संघीय संसदको प्रतिनिधिसभासंग लिनुभएको छ । पार्टीभित्रका विरोधीलाई उहाँले एकीकृत भएको पार्टीलाई विभाजित गरेरै लिन सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्नुभएन । आफ्नो पार्टीको सचिवालयका ९ जना मध्ये ५ जना आफ्नो पक्षमा पार्न नसक्ने प्रधानमन्त्रीले देश महामारीको भूमरीमा परेको बेला, कोरोना भाइरसको संक्रमणको उपचारको लागि खोप ल्याउने प्रबन्ध नभएको बेला, आर्थिक रुपमा देश कमजोर भएको बेला आमसभा र भेलाहरुमा सरकार र स्थानीय प्रशासनले बन्देज लगाएको बेला संघीय संसदको निर्वाचनलाई कसरी औचित्यपूर्ण ठहराउनु हुन्छ ?

यदि पार्टी विभाजित भएन भने त उहाँले जनताको बीचमा जाने नैतिक धरातल पनि गुमाई सक्नुभएको छ । उहाँले पार्टीमा उहाँको कार्यशैलीमा प्रश्न उठ्दा आफू आउदो निर्वाचनपछि प्रधानमन्त्री पनि नबन्ने र पार्टीको आगामी अधिवेशनमा अध्यक्षको उम्मेद्वार पनि नबन्ने घोषणा गरिसक्नुभएको छ ।

यस अगाडि राजनीतिक स्थायित्व,आर्थिक समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्य, जनताको सुख, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणको लागि मत माग्न उहाँलाई सजिलो थियो । तर अब के भनेर माग्नुहुन्छ ,भइरहेको दुई तिहाईजतिको दुलर्भ बहुमत त उहाँले विवेकहिन ढंगले एक निर्णयले समाप्त पारिदिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको विसर्जनको निमित्त बाहेक जनतासंग मत माग्ने आधार उहाँसंग अर्को रहेको छैन् । उहाँका ढाँट र छलकपटपूर्ण शब्दहरुको मजाक सुन्नलाई भने उहाँको संबोधन रोचक नै हुनेछ ।

Share Now

Leave a comment.