
काठमाडौं, ७ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरू भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेपछिको अवस्थाबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
आजको बैठकबाट अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन्।
कांग्रेसले सोमबार नेकपाका सरकारविरोधी नेता र जनता समाजवादीसँग पनि यसबारे छलफल गरेको थियो।
नेपाली कांग्रेसको आमन्त्रणमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका नेताहरुको बैठकले प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएकोमा तीनै दलले समान धारणा राख्दै सोको विरोध गर्न तीनै दल सहमत भएका थिए ।
सोमबारको बैठकमा तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको थियो ।