
विक्रम निरौला / बीबीसी न्यूज नेपाली , विराटनगर
विराटनगर(मोरड.), १२ पौष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड(माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ।
प्रचण्ड(नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो।
सत्तारुढ नेकपाभित्रको आन्तरिक कलह चर्कँदै जाँदा त्यसको असर प्रदेश सरकारमा पर्न थालेपछि दर्ता भएको यो दोस्रो अविश्वासको प्रस्ताव हो।
तीन मन्त्रीको राजीनामा
अविश्वासको प्रस्तावमा नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरेका छन्।
आचार्य नेकपाका प्रदेश १ इन्चार्ज हुनुहुन्छ। आचार्य झन्डै तीन वर्षअघि प्रदेश १ मा मुख्यमन्त्रीका लागि भएको नेकपाको संसदीय दलको निर्वाचनमा राईसँग दुई मतले पराजित हुुनुभएको थियो।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा गरेका थिए।
राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्रीहरू जसमाया गजमेर र विजयकुमार विश्वास रहनुभएको छ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सुइँको थाहा पाएपछि शनिवार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आंबोलाइ पदमुक्त गर्नुभएको थियो।
सामना गर्न तयार
मुख्यमन्त्री राई निकट मानिएका प्रदेश सांसद एवम् प्रदेशसभामा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हिम्मतका साथ उक्त प्रस्तावको सामना गर्ने बताउनुभएको छ।
भण्डारीले भन्नुभयो, ‘प्रदेशसभाको बैठक बोलाउने तयारी भैसकेको छ , हामी त्यहाँ त्यसबारे छलफल गर्न तयार छौँ।’
‘अविश्वास प्रस्ताव आउँदैमा डराउने कुरा हुँदैन।’
प्रदेशसभामा कति सांसद ?
प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन्।
नेकपाका ६७ जना सांसदमध्ये प्रचण्ड(नेपाल समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्।
नेपाली काँग्रेसका २१ , जनता समाजवादीका तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन्।